
-मिना बुढाथोकी
सल्यान,२४ असार । वर्षायाम शुरु भएसँगै यहाँका विभिन्न स्थानमा किसानलाई विरुवा वितरण गर्न शुरु गरिएको छ । जिल्लामा रहेका नगरपालिका तथा गाउँपालिकाले किसान लाई विभिन्न जातका फलफूलका विरुवा वितरण गर्न शुरु गरेको हो । जिल्लाको पहिलो नगरपालिका शारदा नगरपालिकाले २४ हजार विरुवा वितरण गरेको नगर प्रमुख सुरेश अधिकारीले जनाए । नगर भित्रका १५ वटै वडाका किसानलाई विरुवा वितरण गरेको उनले बताए ।
‘प्रत्येक वडामा एक हजार बिरुवाका दरले ९ हजार फलफूलको बिरुवा र अन्य जातका १५ हजार गरी करिब २४ हजार बिरुवा बितरण गरेका हौ’, उनले भने । विरुवा बचाए र हुर्काएवापत प्रति किसान लाई प्रतिविरुवा २० रुपैयाँका दरले प्रोत्साहन स्वरुप प्रदान गरिने समेत उनले बताए ।
कृषकहरुले बिरुवा लगिसकेपछि बिरुवाको हेरचाह गरे नगरेको, बिरुवा रोपे नरोपेको भनेर निगरानीको लागि नगरपालिकाबाटै कर्मचारीको व्यवस्था गरिने नगर प्रमुख अधिकारीले बताए । उनले भने, ‘किसानहरुका लागि यस्तो कार्यक्रम ल्याउने हाम्रो शारदा नगरपालिका जिल्लामै पहिलो नगरपालिका बनेको छ, यस्ता कार्यक्रमले कृषकहरुको मनोबल बढ्ने र आगामी दिनमा कृषकहरुमा बिरुवा रोप्नु पर्छ भन्ने मनस्थिति जाग्ने छ ।’
एक बिरुवाको २० रुपैयाँ उपलब्ध गराउने कार्यक्रमले कृषकलाई नै फाईदा पुग्ने उनले बताए । कृषकले बार्षिक एक बिरुवाको २० रुपैयाँ पनि पाउने र फलफूलका बिरुवाले पनि कृषकलाई फाईदा पुग्ने नगरप्रमुख अधिकारीले बताए । किसानहरुले पाएको बिरुवाहरु अवस्थाबारे एक बर्ष पछि प्रत्येक घरमा गई अनुगमन गरी बिरुवा हुर्काए बाफतको पुरुस्कार दिईने उनले बताए ।
फलफूलका बिरुवा अन्र्तगत आँप, लिचि, अनार, सुन्तला, कागतीका बिरुवा बितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । यस्तै ओखर, टुनी, बुकाईनो, मलागिरी, धुपिसल्ला, रक्तचन्दन, तेजपात, हर्रोबर्राे लगाईतका अन्य बिरुवा उपलब्ध गराईएको कार्यालयले जनाएको छ ।
यसैबिच कपुरकोट गाउँपालिकाको ३ नम्बर वडा कार्यालयले पनि आइतबार किसानहरुलाई १२ सय कागती तथा टिमुरको विरुवा वितरण गरेको छ । वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत ६० जना किसानलाइ विरुवा वितरण गरिएको वडा अध्यक्ष मिन बहादुर सेनले जानकारी दिए ।
फलफूल तथा जडिबुटिका लागि उपयुक्त हावापानी मानिएको कपुरकोट क्षेत्रमा किसानलाई व्यवसायिक फलफूल खेतीतर्फ अग्रसर गराउनका लागि निःशुल्क रुपमा विरुवा वितरण गरिएको उनले जानकारी दिए । यस्तै यस क्षेत्रका कतिपय किसानले पशुपालन व्यवसायलाई अंगालिरहेकाले उनीहरुलाई उन्नत जातको घाँस वितरण गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष सेनले जानकारी दिएका छन् ।















प्रतिक्रिया