१ कार्तिक २०८३, आइतबार

डोमाले पाइन् आमाको नामबाट नागरिकता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, २७ पुस । देशभर आमाको नामबाट छोराछोरीले नागरिकता पाउने व्यवस्था हुनुपर्छ भन्ने माग उठिरहेका बेला सोलुखुम्बुमा भने एकजनाले आमाको नामबाट नागरिकता पाएकी छिन् ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले शुक्रबार दूधकुण्ड नगरपालिका–९ बस्ने फुर्वा लामाकी छोरी डोमा लामालाई आमाको नामबाट ११–०१–७१–०२०२१ नम्बरको नागरिकता प्रदान गरेको हो ।

बाबुको जानकारी नभएको अवस्थामा बाबुको नामको महल खाली छाडेर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले डोमालाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनुभयो ।

दूधकुण्ड नगरपालिका–९ सोलुखुम्बु निवासी फुर्वा शेर्पाले २० वर्षअघि कसैको गर्भ बोकेर छोरी जन्माएको र गर्भ बोकाउने व्यक्तिले नअपनाएपछि एक्लै छोरी हुर्काउनुभएको थियो ।

फुर्वाले भन्नुभयो, “प्रेममा केटाले धोका दिएर सम्पर्कविहीन भएपछि एक्लै दुःख गरेर छोरी हुर्काएँ, नागरिकता दिन बाबुको नाम चाहिन्छ भन्थे, तर आज आफ्नै नामबाट नागरिकता दिलाउन पाउँदा ज्यादै खुसी भएकी छु ।”

स्नातक तह तेस्रो वर्षमा अध्ययनरत डोमाका सबै शैक्षिक प्रमाणपत्रमा आमाको मात्र नाम उल्लेख गरिएको छ ।

तर आमाको नामबाट मात्र नागरिकता पाइँदैन भन्ने सुनेकी डोमाले नागरिकता पाएपछि खुसी हुँदै भनिन्, “मैले नागरिकता नहुँदा धेरै अवसर गुम्ने चिन्ता थियो, तर आज आमाको नामबाट मात्र नागरिकता पाउँदा ज्यादै खुसी छु ।”

आमा फुर्वाको पनि नागरिकता प्रमाणपत्र बन्न सकेको थिएन । उनले २०२४ साल फागुन १५ गते जन्म मिति राखी ११–०१–७१–०१९९७ नम्बरको नागरिकता बनाइन् भने आफ्नै नामबाट छोरीलाई २०५१ साल चैत ८ गते जन्म मिति उल्लेख गरी ११–०१–७१–०२०२१ नम्बरको नागरिकता दिलाउन सफल भइन् । स्थानीय जनताको मुचुल्का र प्रहरी प्रतिवेदनका आधारमा आमा छोरीलाई नै नागरिकता दिएको प्रजिअ ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै नयाँ कुरा हो जस्तो लाग्दैन, कुनै पुरुषले गर्भ बोकाएपछि गरेको गद्दारीको सजाय उसको छोरीलाई दिनु हुँदैन भनेर प्रक्रिया पु¥याएर डोमालाई नागरिकता दिएको हुँ ।” रासस