बर्दिया, २७ पुस । शीतलहर र अत्याधिक चिसोका कारण पश्चिम तराईको जनजीवन प्रभावित बनेको छ । अत्याधिक चिसोकै कारण बर्दियामा एक महिलाको मृत्यु भएको छ ।
गुलरिया नगरपालिका–२ सङ्गमबस्ती ४ नं टोलमा बस्दै आएकी ५७ वर्षीया सुमेली थरुनीको मृत्यु भएको टोलका अध्यक्ष दीपेन्द्रबहादुर बस्नेतले बताउनुभयो । केही दिनदेखि चलेको शीतलहरका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
चिसोका कारण बजार पनि पूर्ण रूपमा खुलेका छैनन् भने सार्वजनिक यातायातका साधन पनि कमै मात्रामा चलेका छन् । बजारमा मानिसको चहलपहल पनि निकै पातलो भएको छ । सदरमुकाम गुलरिया नगरपालिका क्षेत्रमा नगरपालिकाले नगर क्षेत्रका चोकचोकमा आगो ताप्नका लागि दाउराको व्यवस्था गरे पनि ग्रामीण क्षेत्रमा भने नागरिक आफ्नै घरभित्र बस्न विवश छन् ।
नगरपालिकाद्वारा सञ्चालित प्रकोप व्यवस्थापन समितिको कोषमार्फत शीतलहरको समयमा कुनै त्यस्तो अप्रिय घटना नहोस् भन्नका लागि नगर क्षेत्रका विभिन्न चोकचोकमा दाउरा वितरण गरी सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था गरिएको नगरपालिकाका सूचना अधिकृत मुकुन्द अर्यालले बताउनुभयो ।
















प्रतिक्रिया