४ कार्तिक २०८३, बुधबार

६ बर्षमै बनेको प्रियंका सत्ता, कसले उल्ट्याउला ?

91.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दरबारमार्गको एउटा कफीसपमा अभिनेत्री प्रियंका कार्कीसँगको संयोगले भेट भयो । काँक्रो चपाएर बसेकी उनीसँग अस्ट्रेलियाको कार्यक्रमका लागि केही सम्झौताका कुराकानी थिए, सायद । तर, उनलाई मेरो एउटै प्रश्न थियो– यसबीचमा कत्तिको व्यस्त हुनुहुन्छ ? प्रियंकाको तिव्र जवाफ थियो, ‘बीचमा अमेरिका जान्छु अनि सूटहरूमा विजी छु ।’

धेरै मोडल र नवअभिनेत्रीकी ‘आइडल’ पनि हुन् उनी । कतिपयको चाहना प्रियंका जस्तै बन्ने छ । त्यस्तै व्यस्त हुने । त्यत्तिकै क्षमतावान् पनि हुने । ३३ वर्षको उमेर योगमा दौडिरहेका प्रियंकाले नेपाली फिल्म उद्योगमा ६ बर्षभित्र कायम राखेको ‘सत्ता’को प्रभाव हो, यो ।

विवाद, गसिप र चर्चा तीनै थोक उनका संघर्षका बराबरका पयार्य हुन् सायद । मिडियामा हरेक दिन पढिने, छापिने र देखाइने अभिनेत्री पनि हुन् । त्यसैले फिल्मको व्यस्त भागदौडप्रति उनले गरेका टिप्पणी र प्रतिक्रिया स्वभाविक हुन्छन् । कहिले पहिरन, प्रेम र सम्बन्धका कारण पनि उनको आलोचना हुन्छ । तर आलोचनाबीच उद्योगमा उनकै पल्ला भारी भएको उदाहरण उनले दिएको काम नै देखिन्छ ।

७० को दशकमै एकजना हलिउड निर्देशक सामुएल गोल्डविनले भनेका थिए,‘समिक्षकहरूका अलोचनामा ध्यान नदेऊ, तर त्यसलाई नकार्ने काम पनि नगर ।’ प्रियंकाको अहिलेको दौड ठ्याक्कै यस्तै छ । उनले समिक्षकका विषयलाई धेरै ध्यान दिएको वा नकारेको भए उनी ‘प्लसमाइनस’को दौडमा यो उद्योगमा ‘सत्तारुढ’ रहने थिइनन् । तर कहिलेकाहीँ समाजिक सञ्जालमा आएका कतिपय सामाजिक विषयकै लागि उनले जनाउने आपत्तिले विवादमा तानिने गरेकी छन् ।

हरेक मानिसका जस्तै उनका पारिवारिक र व्यक्तिगत जीवनका फरक तरङ्ग भए पनि फिल्मी दुनियाँमा उनको एउटै तरङ्ग छ– अभिनयको लालसा, अनुबन्धनको तिव्रता र उद्योगमा सत्ता !

‘मेरो बेस्ट फ्रेन्ड’बाट नेपाली फिल्ममा छिरेकी प्रियंकाको दौड सेतो घोडाको जस्तो भयो । नाच्नमा पनि पारङ्गत रहेकी प्रियंकाबिनाका सायदै कम फिल्म छन् वितेका केही बर्ष । कहिलेकाहीँ एकै साता उनी अभिनित फिल्म मात्रै पनि रिलिज हुन्छन् । उनको मुख्य अभिनयबिनाका फिल्म निक्कै कम हुन्छन् । निर्माता र निर्देशकको रोजाईमा प्रियंका पर्नुको कारण उनी हरेक विषयमा सहज छिन् । एक निर्देशक भन्छन्,‘हिरोइन नचाउन राख्ने हो, गीतमा फिट गराउने हो । अभिनयमा फिट गराउने हो । यी सबै कुरामा प्रियंका फिट छिन् ।’

त्यतिमात्र होइन कतिपय अभिनेत्रीहरूले भनेजस्तो पहिरन नलगाइदिने, ग्ल्यामरको अर्थलाई नबुझिदिने भएका कारणले पनि प्रियंका रोजाईमा पर्दै आएकी हुन् । उनले फिल्ममा विकिनीदेखि कथाका आवश्यक पहिरनलाई अस्वीकार गर्दिनन् । ‘कतिपय गीतहरू, आइटम डान्समा आकर्षक देखाउनै पर्छ । त्यस्ता दृश्यमा धेरैले कमेन्ट गर्छन् तर प्रियंकाले मिहेनत गर्छिन् । त्यसैले रोजाइमा पर्छिन्’, एकजना निर्माता भन्छन्,‘यसै कारण पन उनको माग बढेको हो ।’

उनका अभिनय वेश्यादेखि क्रुर आमासम्मका रहेका छन् । जसले चर्चा पाए । तर प्रियंका अभिनित अधिकांश फिल्म फ्लप भएका छन् । उनले ‘झोले’मा वेश्याको भुमिका निर्वाह गरेकी छन् । छक्का पञ्जा २ मा एउटा क्रुर आमा पनि बन्न भ्याइन् । सफल फिल्म मध्ये नाई नभन्नु ल–२ उनको खातामा पर्दछ । अन्य औसत नै देखिएका छन् । तर लगालग फिल्ममा अनुबन्धित भएर उद्योगमा एकछत्र देखिनुले उनको विरासत र सत्ता कायम रहेको पुष्टि हुन्छ ।

प्रेतदेखि सामान्य गाउँले केटीसम्मका अभिनय समेत भ्याएकी प्रियंका फिल्म उद्योगकी ‘माला’ र ‘सुन्तली’का नामले पनि परिचित भइन् । प्रियंकाको यो दौड अहिले पनि जारी छ । उनको म्याराथनमा बराबरीको दौडमा सायद कोही आइपुगेका छैनन् । त्यसैले फिल्म उद्योगका लागि एउटा प्रश्न छाडिएको छ– कसले उल्ट्याउला प्रियंकाको सत्ता ? कोही सम्भावित छन् ?