काठमाडौं। एमाले उपाध्यक्ष बामदेव गौतमको अभिव्यक्तिले संसदीय दलका नेता केपी शर्मा ओलीको टिममा नयाँ तरंग ल्याइदिएको छ ।
गौतमले मंगलबार राष्ट्रिय सभागृहमा गरेको भाषणले ओलीको टिममा हलचल ल्याएको हो । मदन भण्डारी फाउन्डेसनले मंगलवार गरेको कार्यक्रममा उपाध्यक्ष गौतमले ओली समूहले आफ्नो बैचारिक नेता ठानेका सचिव शंकर पोखरेलको मानमर्दन गरेपछि गौतमलाई हेर्ने सवालमा समेत दुई भागमा विभाजित भएको बताइएको छ ।
कार्यक्रममा बोल्ने क्रमको अन्तिममा गौतमले भनेका थिए– ‘विचारमा अल्पमतमा भएपनि अध्यक्ष केपी कमरेडलाई नै बनाउने हो । तर, उहाँले आफ्नो विरासत शंकर पोखरेललाई सुम्पन खोज्नु भएको छ भने त्यो सहयोग नहुन पनि सक्छ ।’ कार्यक्रममा गौतमले पोखरेलले अगाडि सारेको विचारको पनि आलोचना गरेका थिए ।
गौतमको सार्वजनिक रुपमा सचिव पोखरेलको आलोचना गरेपछि ओली समूहका नेता सोही दिन बेलुकी अनामनगरस्थित फाउन्डेसनमा गोप्य रुपमा गौतमको अभिव्यक्तिको समिक्षामा जुटेका थिए । तर, त्यस रातको भेलामा गौतमलाई भने डाकिएको थिएन । अघिल्लो दिनको भेलाले गौतमको अभिव्यक्तिको के अर्थ हो भन्ने कुनै निष्कर्ष निकाल्न नसकेपछि बिहीबार राती पुनः गौतमलाई नै बोलाएर अर्को भेला गरिएको स्रोतले बतायो । बिहीबार दुइटै पक्षले गोप्य भेला गरेकोमा शुक्रबार पनि ओली पक्षका उच्च नेताको गोप्य बैठक डाकिएको छ ।
नेकपा एमालेको संसदीय दलको निर्वाचनपछि ओली क्याम्पमा पुगेपनि उपाध्यक्ष गौतमलाई ब्यवस्थापन गर्ने विषयमा ओली समूहमा समस्या छ । माथिल्लो तहमा एकता भने पनि जिल्ला तहमा एकता नदेखिँदा झनै समस्या भएको छ । यता, माधव नेपाल पक्ष भने ओली समूहलाई फुटाउने दाउमा छ ।












प्रतिक्रिया