
चितवन, १४ असार । जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर मदन भण्डारी फाउण्डेशन चितवनले बिहीबार कागती र एबोगार्डाेका विरुवा रोपेको छ । कालिका नगरपालिका वडा नं. २ स्थित थाङ्गखोला सामुदायिक वनमा फाउण्डेशनले बगैंचा बनाएको हो ।
फाउण्डेशन चितवन र थाङ्गखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा बिहीबार सामुदायिक वनमा आयोजित फलफूल वृक्षारोपण कार्यक्रममा दुई सय सुन कागती र २० वटा एबोगार्डाेको विरुवा रोपिएको छ ।
करिब दुई विगाहा क्षेत्रफलमा ती विरुवा रोपिएको फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिए । फाउण्डेशनले क्रमशः पाँच विगाहा क्षेत्रफलमा फलफूलका विरुवा रोप्ने उनले जानकारी दिए ।
सामुदायिक वनको जग्गामा रोपिएका ती विरुवाको गोडमेल, मल, आवश्यक औषधोउपचार र संरक्षण जस्ता कार्य फाउण्डेशन र उपभोक्ता समूहले संयुक्त रुपमा गर्नेछन् । बगैंचाबाट आउने प्रतिफल भने सामुदायिक वनको नै हुने गरी बगैंचा बनाईएको अध्यक्ष भट्टराईले बताए ।
उक्त बगैंचाको डिजाईन र आवश्यक प्राविधिक तयारी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सहप्राध्यापक विशाल श्रेष्ठ र सरोज सापकोटाको नेतृत्वमा प्राविधिक सचेत सुवेदी र सरस मरासिनीले गरेका थिए ।
दीर्घकालिन रुपमा समुदायले प्रतिफल पाउने गरी बगैचाको विस्तार, प्रबद्र्धन र संरक्षण गर्दै लगिने फाउण्डेशनका उपाध्यक्ष शम्भुप्रसाद सुवेदीले बताए ।
सो अवसरमा आयोजित कार्यक्रममा प्रदेश नं. ३ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामाले प्रदेश सरकारले सामुदायिक वनहरुलाई उत्पादनसँग जोडेर फलफूल र जडिबुटी खेती गर्न प्रोत्साहन गर्ने नीति लिएको बताए ।
कतिपय नीतिले सामुदायिक वनहरुमा उत्पादनमूलक कार्य गर्न रोक लगाएको बताउँदै उनले त्यसलाई परिवर्तन गरी सामुदायिक वनहरुलाई उत्पादनमूल बनाईने बताए ।












प्रतिक्रिया