८ कार्तिक २०८३, आइतबार

विवादित विषयलाई सर्तसहित संवाद समितिमा पठाउन तीन दल सहमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-uml-maoist

काठमाडौँ, २४ पुस । संविधानका मुख्य विवादित विषयलाई सर्तसहित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पुनः पठाउने बारेमा प्रमुख तीन दल सहमत भएका छन् ।

विवादित विषयमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादीको बैठकले सहमति नभए प्रक्रियामा जाने कुरालाई सुनिश्चित गरेर संवाद समितिमा विवादित अन्तरवस्तुलाई पुनः लैजान सकिने निष्कर्ष निकालेका हुन् ।

सभामुखसँग सल्लाह गरेर विवादित विषयमा सहमति गर्न केही दिन पुनः संवाद समिति पठाउन सकिने तर त्यहाँ (संवाद समिति) मा पनि सहमति नभए संविधानसभा नियमावलीअनुसारको प्रक्रियामा जानका लागि सुनिश्चित हुनुपर्ने एमालेका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।

दलहरु सहमतिका लागि लचिलो भएर अन्तिम प्रयास गरिरहेको जानकारी गराउँदै वरिष्ठ नेता खनालले सहमति भएन भने प्रक्रियामा जानुको कुनै विकल्प छैन भन्नुभयो । अब कसरी प्रक्रियामा जानुहुन्छ भन्ने जिज्ञासामा नेता खनालले नियमावलीले व्यवस्था गरेको प्रावधानलाई छोट्याएर अघि बढ्न सकिने धारणा राख्नुभयो ।

संविधानका विवादित अन्तरबस्तुलाई संवाद समितिमा पठाउने सम्बन्धमा एमाओवादीका नेता डा बाबुराम भट्टराईले त्यस विषयमा आफू सकारात्मक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विवादित विषयमा छलफल तथा सहमति गर्न संवाद समिति संविधानसभाको एकमात्र आधिकारिक थलो हो र संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलका प्रमुख नेताहरु सदस्य रहेको यस समितिमा उहाँहरुले सहमति नगर्ने भए अन्तरवस्तुलाई पठाएर मात्र केही हुँदैन ।’