
काठमाडौँ, ८ असार । नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ । पत्रमा बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान विहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो ।
मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमान प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरका पदाधीकारीहरुसँगको भेटघाटमा मन्त्री अधिकारीले बुद्ध एयरको यस घोषणाबाट आफू निकै सकारात्मक रहेको र त्यसै अनुरुप नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय घोषणालगायत आवश्यक पूर्वाधारहरु इमिग्रेसन, कस्टम यथाशिघ्र (६ महिनाभित्र) सकिने विश्वास दिलाए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच हालै सम्पन्न उडान सहमतिले हवाईमार्ग L626 लाई दुईतर्फी रुटको रुपमा स्थापित गरेको छ । यस सहमतिले टर्बोप्रप एटीआर विमानहरुबाट नेपालगञ्जदेखि भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको हवाई उडान करिब १ घण्टा १० मिनेटमा भर्न सकिन्छ ।
नेपालगञ्जबाट सिधा नयाँ दिल्ली हवाई उडान सञ्चालनमा आउँदा मध्यपश्चिम एवं सुदूरपश्चिमको आर्थिक सम्वृद्धिमा कायापलट गर्न कोशेढुंगा साबित हुने विश्वास बुद्ध एयरले लिएको छ । यो हवाईमार्ग सञ्चालनमा आउन सके यसले नेपालको मध्यपश्चिम र सुदूरपश्चिममा बसोबास गर्ने नेपालीहरुलाई नेपालगञ्जमार्फत सिधै नयाँ दिल्लीसँग जोड्नेछ । साथै यस उडानले प्रचुर सम्भावना रहेर पनि ओझेलमा परेका पर्यटन उद्योग एवं त्यस क्षेत्रको व्यापार व्यवसायको पनि प्रवद्र्धन हुनेछ । यसले आर्थिक सम्वृद्धिमा एवं रोजगारी सिर्जनामा विकेन्द्रीकरणको भूमिका खेल्नेछ ।
धार्मिक तथा पर्यटकीय यात्रुहरुको ओहर–दोहरोले प्रदेश ५, ६ र ७ को आर्थिक गतिविधि स्वतः बढ्नेछ । यसले बर्दिया तथा शुक्लाफाँटा आरक्ष, प्रदेश ६ को रारा ताल, प्युठान जिल्लाको स्वर्गद्वारी तथा डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थलमा रहेको रमणीय खप्तडलगयातका क्षेत्रहरुको प्रवद्र्धन हुनेछ । यससँगै प्रदेश ६ को सिमिकोटलाई चीनको कैलाश मानसरोवर यात्राका लागि केन्द्र बनाउन सकिने बुद्ध एयरले जनाएको छ ।
नेपालगञ्ज–नयाँदिल्ली–नेपालगञ्ज अन्तर–सिमा उडान यथाशिघ्र सञ्चालन गर्न बुद्ध एयर प्रतिवद्ध रहेको साथै यस लगत्तै दैनिक नेपालगञ्ज–पोखरा–नेपालगञ्जको पनि उडान सञ्चालनको तयारी गर्नेछ । नेपालगन्जबाट नयाँ दिल्लीको उडान जति चाँडो सञ्चालन हुन्छ त्यति नै चाँडो निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने योजना बुद्धले बनाएको छ ।
हालका दिनमा विभिन्न सञ्चार माध्यमहरुमा पोखराबाट ठूला जहाज सञ्चालनमा विभिन्न किसिमका टिकाटिप्पणी आएका छन् । बुद्ध एयर यसका लागि निरन्तर प्राविधिक, विज्ञ तथा एयरबस र बोइङ कम्पनिको सम्पर्कमा छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयर अहिले एटीआर जहाजबाट भारतको वाराणसी उडान भर्दै आएको छ ।















प्रतिक्रिया