
काठमाडौँ, ५ असार । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले नेपालमा वैदेशिक लगानीको उपयुक्त वातावरण रहेकाले लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आग्रह गरेका छन् ।
मकाओमा अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्च (आइआइआइसीफ) को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपालको भौतिक पूर्वाधार सहित जलस्रोत, पर्यटन, उर्जा लगायतका क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आग्रह गरेका हुन् ।
नेपालसँग ४४ हजार मेघावाट विद्युत उत्पादन गर्ने क्षमता रहेपनि हाल करीब ८ सय मेघावाट विद्युत मात्र उत्पादन भइरहेको तथ्यांक श्रेष्ठले प्रस्तुत गरे । प्राकृतिक रुपले भरिपूर्ण नेपालमा प्रशस्त अन्तर्राष्ट्रिय सम्पदाहरु समेत भएकाले विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने अध्यक्ष श्रेष्ठले बताए ।
उच्च शिक्षाको अध्ययन पूरा गरेका धेरै लगनशील युवाहरु नेपालमा रोजगारीको खोजीमा रहेको भन्दै अध्यक्ष श्रेष्ठले नेपालमा उत्पादित सामानलाई सजिलै दुई विशाल छिमेकी राष्ट्र भारत तथा चीनमा निर्यात गर्न सकिने जानकारी दिए । तुलनात्मक रुपमा कम लगानीमा नै नेपालमा दक्ष जनशक्ति उपलब्ध रहेको बताउँदै श्रेष्ठले वैदेशिक लगानीका लागि नेपालको कर्मचारीतन्त्रमा सहज पहुँच रहेको उल्लेख गरे ।
नेपालमा सन् २०१५ मा आएको विनाशकारी महाभूकम्पपछि जनस्तरबाटै पूर्वाधार सहित विविध क्षेत्रमा लगानी गर्ने परिपाटी बढ्दै गएको श्रेष्ठले बताए । महाभूकम्पको समयमा असल छिमेकीको रुपमा चीनले गरेको सहयोगको उनले प्रशंसा गरे ।
यसैबीच निर्माण, विकास, इन्जिनियरिङ लगायतका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघ र मकाउ कन्ट्रयाक्टर एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । महासंघ अध्यक्ष श्रेष्ठले मकाउ कन्ट्रयाक्टर एशोसियसनलाई पनि नेपालको उर्जा, पर्यटन, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ गत साता मकाउ गएका थिए । मकाउ बैठकमा भाग लिएपछि नेपाली प्रतिनिधिमण्डले हङकङको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा हङकङले हासिल गरेको सफलताको स्थलगत अध्ययन गरेको थियो ।
प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत रहेको निर्माण व्यवसाय प्रवर्द्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष केशव कुमार शर्र्मा, उपसचिव बिष्णु शर्मा लगायतको सहभागिता रहेको थियो । महासंघले वर्षेनी आइआइआइसीफको बैठकमा सहभागिता जनाउँदै आएको छ ।















प्रतिक्रिया