
-नृपराज हमाल
हुम्ला, ३ असार । हुम्लामा सुत्केरी हुन नसकेकी एक महिलाको उद्दार गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाईएको छ । चार दिनदेखि सुत्केरी व्यथा लागेर घरमा सुत्केरी गराउन खोज्दा सुत्केरी हुन नसकेकी चंखेली गाउँपालिका वडा नं ६ मेल्छामकी १९ बर्षिया बसन्ती शाहीको हेलिकप्टरबाट उद्दार गरि जिल्ला अस्पताल सिमकोट ल्याईएको थियो ।
जिल्ला अस्पताल, हुम्लामा पनि सुत्केरीको उपचार हुन नसक्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको जिल्ला अस्पताल प्रमुख डा. रञ्जितकुमार यादवले बताए । शाहीको पेटमा भएको बच्चाको मृत्यु भई सकेको डा. यादवले बताए । शाहीको अप्रेसन गर्नुपर्ने भएपनि जिल्लामा व्लड बैंक नभएका कारण रगतको समस्याले रिफर गरि जुम्ला पठाईकोे यादवले बताए ।
विहिवारदेखि सुत्केरी व्यथा लागेकी शाहीको चार दिनसम्म घरमै सुत्केरी गराउन खोज्दा सुत्केरी हुन नसकेपछि आईतवार चंखेली गाउँपालिकामा खवर गरेपछि तुरुन्त हेलिकप्टरको व्यवस्था गरि उद्दार गरि पठाईएको चंखेली गाउँपालिका उपाध्यक्ष बिमला शाहीले जानकारी दिइन् ।
सरकारले कर्णालीका महिलाहरुलाई सुत्केरी हुन नसकेमा एअर लिफ्टिङ मार्फत सुविधा सम्पन्न अस्पतालमा थप उपचारको लागि निशुल्का लग्ने व्यवस्था गरेको भएपनि स्थानीय स्तरमा यसवारे थाहा नहुँदा सुत्केरी महिलाहरुको ज्यान जाने गरेको छ ।
यसअघि शनिबार मात्रै चंखेलीकी एक महिलाको एअर एम्वुलेन्सबाट उद्दार गरि जिल्ला अस्पताल, हुम्लामा सामान्य रुपमा सुत्केरी गराईएको थियो भने गतबर्ष चैत १४ गते खार्पुनाथकी एक महिलालाई घरमै सुत्केरी गराउँदा उच्च रक्तश्रावका कारण ज्यान गएको थियो ।












प्रतिक्रिया