काठमाडौँ, २३ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले, एमाओवादी र मधेशवादी दल सम्मिलित शीर्ष नेताको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलीका कारण खटपट भएको छ ।
संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सहमति जुटाउन बुधबार बिहान चार दलका शीर्ष नेताहरु बिहानै बालुवाटार पुगेका थिए । निर्णायक भनिएको उक्त वार्ताले ठोस सहमति निकाल्ने अनुमान पनि गरिएको थियो ।
तर, बैठकमा अध्यक्ष ओलीले मधेशवादी दललाई केन्द्रित गरेर गरेकोे खरो टिप्पणी ती दललाई पाच्य भएन । उनीहरुले बैठकमा सहभागी नहुने घोषणा गरे अनि वार्ता भाँडियो ।
मधेशी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सञ्चारकर्मीहरुसँग ओलीले मधेशवादी दलप्रति अप्रिय शब्द प्रयोग गरेपछि वार्ता भाँडिएको प्रतिक्रिया दिनुभयो ।
उहाँका अनुसार तराइका जिल्लालाई पहाडी जिल्लामा जोड्न नहुने मधेशवादी दलको धारणालाई ओलीले चर्को रुपमा आलोचना गर्नुभयो ।
ओलीले तपाइँहरुलाई त युपी, विहार पनि चाहिन्छ नि ? भन्ने शब्द प्रयोग गरेपछि विवाद भएको यादवले जानकारी दिनुभयो ।
दलहरुबीचको आरोप–प्रत्यारोपले माघ ८ मा जारी गर्ने भनिएको संविधान अन्योलमा पर्ने संकेत देखिएको छ ।















प्रतिक्रिया