काठमाडौँ, २२ पुस । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले एकीकृत नेकपा माओवादी र मधेसवादी दलसँग संविधानका विवादित विषयमा निर्णायक र अन्तिम छलफल गर्ने भएका छन् । आज पनि सहमति नजुटे प्रक्रियातिर जाने दलहरुको तयारी छ ।
निर्णायक छलफलका लागि सत्तारुढ दलहरुले प्रधानमन्त्री निवास बालुवाटारमा एमाओवादी र मधेशी मोर्चालाई बैठकमा बोलाएका छन् । मंगलबार साँझ काँग्रेस र एमालेबीच भएको छलफलमा सहमतिका लागि भन्दै अब धेरै समय पर्खन नसकिने ठहर गर्दै बुधबार बिहान एमाओवादी नेतृत्वको मोर्चासँग निर्णायक छलफल गर्ने निर्णय गरेको थियो । दुई दलले सहमतिको प्रक्रिया अगाडि बढ्न नसकेको खण्डमा प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने निष्कर्ष निकालेका थिए ।
काँग्रेस र एमाले जातीय आधारमा राज्यको पुनःसंरचना हुन नसक्ने र हिमाल पहाड र तराईलाई छुट्टयाउनेबाहेक अन्य विषयमा सहमति गर्न तयार रहनुपर्नेमा पक्षमा छन् ।
मुलुकको सार्वभौमसत्ता र अखण्डताविपरीत सामाजिक सद्भाव बिथोल्ने गरी राज्यको पुनःसंरचना गर्न नसकिने तर सबै जातजाति र वर्गलाई अधिकार सम्पन्न गराउनेतर्फ विशेष ध्यान दिँदै सहमति गर्न दुई दल तयार रहेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।
सहमतिमा नै संविधान जारी गर्नका लागि हदैसम्म प्रयत्न गर्दासमेत एमाओवादी र मधेसवादी दल तयार नभए प्रक्रियामा गएर निलम्बन गरेरै भएपनि आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने तयारी गर्नुपर्ने निष्कर्ष निकालिएको उहाँको भनाइ छ ।
















प्रतिक्रिया