२ कार्तिक २०८३, सोमबार

अर्थमन्त्री खतिवडा र निर्माण व्यवसायी महासंघको टोलीबीच भेटवार्ता, रकम भुक्तान गर्न अर्थमन्त्री सकारात्मक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीहरुको रकम भुक्तानी गर्न पहल गर्ने आश्वासन दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागहरुसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका हुन् ।

महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा मंगलबार गएको प्रतिनिधिमण्डलले विभिन्न सरकारी निकायहरुबाट भुक्तानी हुनु पर्ने झण्डै ४२ अर्ब भन्दा बढी रकम प्राप्त नहुँदा देशभरका व्यवसायी ठूलो मारमा परेको जानकारी अर्थमन्त्री खतिवडालाई गराएको थियो । प्रतिनिधिमण्डलले हेभी इक्युप्मेन्टमा लाग्ने कर मिनाहा गरिदिन आग्रह गरेकोमा अर्थमन्त्री खतिवडाले आफू यसमा सकारात्मक रहेको जवाफ दिए ।

यसबाहेक प्रतिनिधिमण्डलले निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धि, निर्माण सामाग्रीको अभाव, व्यवसायी मैत्री ऐन कानूनको आवश्कयता, निर्माण कार्यमा सरकारी निकायबीचको समन्वय अभाव लगायतका विषयमा समेत अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको थियो ।

यसैबीच महासंघले हालै जारी गरिएको सही कारोबार सहित विवरण बुझाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरको बक्यौता देखाउने निर्माण व्यवसायीहरुलाई ब्याज हर्जाना छुट गरिने सूचना प्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । सो सूचनाले इमान्दार व्यवसायीहरुलाई मर्का पर्ने र विवरण नबुझाउने तथा बक्यौता नदेखाउने प्रवृत्ति बढ्न गई राजश्वको लक्ष्य प्राप्तिमा असर पर्न जाने महासंघको भनाइ छ ।

त्यसैले सबै व्यवसायीहरुले तिर्नु तथा बुझाउनु पर्ने सबै मूल्य अभिवृद्धि कर तथा आयकर २०७५ पुष मसान्त सम्म बुझाएमा ब्याज, हर्जाना छुट दिने सुविधा दिई तिर्न तथा बुझाउन बाँकी बक्यौता राजश्व फरफारक गर्ने अवसर एक पटकको लागि प्रदान गर्नका लागि पहल गरिदिन आग्रह गरेको छ । प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार यक्षध्वज कार्की, महासचिव रामशरण देउजा, लोकतान्त्रिक निर्माण व्यवसायी महासंघका अध्यक्ष हुमनाथ कोइराला, निर्माण उद्योग परिषद्का महासचिव केदार कँडेल, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।