
-बेलिना थापा
लमजुङ । गुरुङ फिल्म ‘मैंरिमो’ (सम्झिरहेछु÷मिस यु) को प्रदर्शन लमजुङको बेंसीशहरमा भव्य भएको छ । लमजुङका दर्शकले औधी रुचाएका छन् ।
गुरुङ बाहुल्य पोखरामा एकसाता लगातार आफ्नो प्रदर्शन गर्न सफल फिल्म मैंरिमोले बेंसीशहरमा एकैदिन करीब ६ सय दर्शक बटुल्यो । शनिबार अन्नपूर्ण चलचित्र मन्दिरमा २ शो गरिएको फिल्मलाई हेरेर धेरै दर्शक भावुक भने । विदेशमा पति गुमाउँदाको वियोगमा छट्पिटिएकी महिलाको पीडामा धेरैले आँखामा आँसु थाम्न सकेनन् ।
गाउँका युवा विदेशिनु, सामुदायिक विद्यालयमा विद्यार्थी अभाव लगायतका विषयवस्तुलाई दर्शकले प्रशंशा गरे । ‘गुरुङ फिल्म मैंरिमो निकै राम्रो बनेको रहेछ’ निर्माणाधिन मेदों (सिट्ठा) फिल्मकी नायिका योगिता गुरुङले भनिन् ।
मुनाल फिल्मस प्रालि पोखराको ब्यानरमा निर्मित ‘मैंरिमो’ ७० प्रतिशत गुरुङ भाषामा छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका २, मालिङको सैलुङ गाउँमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन गरिएको उक्त फिल्म भोजबहादुर गुरुङले निर्देशन गरेका हुन् ।

कलाकारमा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, कूलबहादुर गुरुङ, इन्द्रसुबा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङ, रोशन गुरुङ लगायत छन् । फिल्मको कार्यकारी निर्माता बालकाशी गुरुङ हुन् ।
केयरसिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा र संवाद रहेको फिल्मको छायांकन तथा सम्पादन खिमबहादुर गुरुङले गरेका हुन् । तेजेन्द्र गुरुङको संगीतमा मनोज गुरुङ, गोविन गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ र सरुन गुरुङले स्वर दिएका छन् । आश गुरुङ, अमिर गुरुङ र प्रेम गुरुङको गीत छ । फिल्मका निर्मातामा प्रेम गुरुङ र सपना गुरुङ छन् ।
फिल्ममा समावेश ‘ए ङोल्स्यो…ए ङोल्स्यो…’ बोलको गीत गुरुङ समुदायमा मात्रै नभइकन अन्य समुदायमा पनि निकै लोकप्रिय रहेको गीतका गायक मनोज गुरुङले बताए । फिल्म प्रदर्शनका क्रममा फिल्मका सहनिर्देशक एवं नायक गमन घले, गायक मनोज गुरुङ, गीतकार आश गुरुङ, गुरुङ फिल्मका नायक विष्णु गुरुङ, खेमराज घले, गुरुङ फिल्मकर्मी शंकर गुरुङ ‘बतासे’ लगायतको उपस्थिति थियो ।

फिल्मले गुरुङ समुदायमा सकरात्मक सन्देश दिएको क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले बताए । उक्त फिल्म गीतकार गुरुङ र गुरुङ फिल्मकी नायिका खुसी गुरुङको संयोजनमा प्रदर्शन गरिएको हो ।
फिल्ममा गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन गरिएको प्रयासलाई मुख्य विषय बनाएको निर्देशक भोजबहादुर गुरुङले बताएका छन् । फिल्म हङकङमा जुन १७ तारिखमा प्रदर्शन गरिने फिल्मका सहनिर्देशक घलेले बताए ।
फिल्म यसअघि पोखरा, चितवन, काठमाडौं, मनाङ साथै अमेरिका, बेलायतमा प्रदर्शन भइसकेको छ । मैंरिमो जेठ पहिलो साता दमौलीमा आयोजित दोस्रो गुरुङ फिल्म महोत्सवमा विशेष प्रदर्शन गरिएको थियो ।















प्रतिक्रिया