
काठमाडौं, २५ जेठ । नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितिले सरकारले आफूहरुलाई उपेक्षा गरेको भन्दै तत्काल शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई ढाँटेको उनीहरुको आरोप छ ।
सरकारले आफूहरुलाई रोजगारीको व्यवस्था नगरे जीवन निर्वाह भक्ताको व्यवस्था गर्नपनि उनीहरुले माग गरेका छन् । यदि सरकारले आफूहरुको लागि केहीपनि गर्न नसक्ने हो भने मारि दिए हुन्छ भन्ने उनीहरुको आक्रोश थियो ।
आफ्नो योग्यता र क्षमताको आधारमा जीवन जिउन खोज्दा पनि त्यसमा राज्यले कत्तिपनि सहयोग नगरेको भन्दै नेपाल दृष्टिविहिन अपाङ्ग जागरण संघर्ष समितिका सदस्यहरुले गुनासो पोखेका छन् ।
समितिले शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो गुनासो र मागहरु तेर्साएको हो । संघर्ष समितिका अध्यक्ष सुदिप वलीले अशक्त, अपाङ्ग, दृष्टिविहीनलाई राज्यले उचित न्याय दिनुपर्ने बताए ।
उनले भने,‘राज्यले हामीलाई न्याय दिनुपर्यो । पढेकालाई जागिर र नपढेकालाई भत्ताको ब्यवस्था हुनुपर्यो । हामी माग्ने होइनौँ । हामीले आफ्नो कला र गला बेचेर गुजारा गरेका छौँ । यदि हामी माग्ने भए देशका सबै गायक तथा गायिका माग्ने हुन, सबै नेता माग्ने हुन् । हामीले अपराध गरेका छैनौँ । सजाय दिने भए ती भ्रष्टाचारीहरु, दलालीहरुलाई दिनुहोस हामीलाई होईन ।’
राष्ट्रिय अपांग पत्रकार संघ नेपालका अध्यक्ष रबिन थपलियाले सरकारले अपांगता भएका व्यक्तिहरुलाई उपेक्षा गरेको भन्दै कडा आपत्ति जनाए । हालै आएको आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा समेत अपांगता भएका व्यक्तिहरुको बारेमा कुनै सम्बोधन नगरेको भन्दै उनको आक्रोश थियो ।












प्रतिक्रिया