
बिर्तामोड, २५ जेठ । वीरता जेसीज बिर्तामोड र बिर्तामोड उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बिर्तामोडस्थित अतिथि सदनमा मञ्चन भएको नाटक ‘जिउँदो आकाश’ हजारौं दर्शकले हेरेका छन् ।
आर्ट स्टुडियोकोे संयोजन र साइलेन्ट एक्टको निर्माणमा बनेको नाटक ‘जिउँदो आकाश’ गत जेठ १८ गतेदेखि २४ गतेसम्म बिर्तामोडस्थित अतिथि सदनमा मञ्चन भएको थियो । जेठ २३ गतेसम्म मञ्चन गरिने भनिए पनि दर्शकको चापका कारण २४ गतेसम्म नाटक मञ्चन गर्नुपरेको बताइएको छ ।
झापाका बिराट ज्योति सेकेण्डरी स्कूल, कञ्चनजंघा मावि, बाल्मिकी एजुकेशन फाउण्डेशन, न्यटन कलेज, मेची इङ्लिस बोर्डिङ स्कूल, इडन गार्डेन स्कूल, फनमिन इङ्लिस बोर्डिङ स्कूल, सरस्वरती एन्जलस स्कूल, ग्लोरी इङलिस बोर्डिङ, पूर्वाञ्चल एकाडेमी, बिर्तामोड पब्लिक स्कूल, लक्ष्मी मावि लगायतका विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले नाटक हेरेको नाटकका संयोजक प्रकाश दाहालले बताए ।
त्यस्तै सांसद, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक व्यक्तित्व, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायतले समेत नाटक हेरेको उनले बताए ।
चन्द्रप्रसाद पाण्डेयको लेखन तथा आरके मेहता रोशनको निर्देशन र मानाङ सुब्बाको संगीत संयोजन रहेको नाटक जिउँदो आकाशमा यौनिक अल्पसंख्यक (तेस्रोलिङ्गी)को वास्तविक जीवनमा आधारित घटनालाई प्रस्तुत गरिएको छ ।
नाटकमा अनिल सुब्बाको एकल अभिनय रहेको छ भने उनले तेस्रोलिङ्गीको भूमिका निर्वाह गरेका थिए । फरक विषयवस्तु र एकल अभिनयमा आधारित नाटक भएकाले दर्शकको चाप बढेको संयोजक दाहालले बताए ।















प्रतिक्रिया