
काठमाडौँ, २३ जेठ । पूर्व उद्योगमन्त्री महेश बस्नेतले सरकारले आर्थिक वर्ष ०७५/७६ को लागि ल्याएको बजेट उत्पादनमुखी भएको बताएका छन् । सञ्चारकेन्द्र नेपालमा बुधबार आयोजित ‘प्रस्तुत बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बस्नेतले यस्तो बताए ।
बजेटले मुलुक भित्र थप रोजगारी सिर्जना गरी नेपालीलाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम पहिलोपटक सुरु गरिएको भन्दै अब विदेशिने युवाहरुलाई नेपालमै रोजगार पाउनेमा ढुक्क हुन आग्रह आग्रह गरे । पूर्वमन्त्री बस्नेतले जलउर्जा, कृषि, सिंचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना भएकाले हालसम्म नेपालले विदेशमा श्रम बेच्दै आएको युवालाई स्वदेशमै काममा लगाई मुलुकले सम्बृद्धिको यात्रा गर्ने बताए ।
पूर्वमन्त्री बस्नेतले उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर रू.७ लाखसम्म र विदेशी भूमिमा सिप सिकेर फर्केका युवाहरुलाई १० लाखसम्म ऋण दिने योजना ल्याएकाले यो बजेटले लाखौं व्यक्तिहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने ठोकुवा गरे ।
त्यसैगरी पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारले हालै ल्याएको बजेटले मुलुकको सम्बृद्धिको यात्रा तय गरेको बताए । नेपालजस्तो बजारमुखी अर्थतन्त्र भएको मुलुकले दुई छिमेकी मित्रराष्ट्रसँग रेलमार्ग जोड्दा मुलुकले सम्बृद्धि हासिल गर्न सक्ने बताए ।
पूर्वमन्त्री कोइरालाले सरकारले बजेटमा समावेश गरेका मदन भण्डारी राजमार्ग, पश्चिम सेती जलविद्युत आयोजना, काभ्रेमा अन्तर्राष्ट्रिय विमानस्थल, कृषि उत्पादन दोब्बर र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने योजना सरकारको दुरदर्शी योजना भएको भन्दै यी योजनाहरु कार्यान्वयन भएमा मुलुकले सम्बृद्धि हासिल गर्ने धारणा व्यक्त गरे । त्यसैगरी अर्थमन्त्री कोइरालाले राम्रो काम गर्ने सरकारी संस्थानहरुलाई हतोत्साहित होइन प्रोत्साहित गर्नुपर्ने कुरा बताउनुभयो ।












प्रतिक्रिया