
काठमाडौैं, २३ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरु फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउनुपर्ने पद्धतीको अन्त्य हुनुपर्ने बताएका छन् ।
संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत विषयमा संसदीय प्रक्रियाकाबारे जानकारी दिन बुधबार संसद भवन बानेश्वरमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले सांसदलाई कानुन निमार्णमा सक्रिय बनाउन जनताका अन्य कामलाई सरकारले सहजिकरण गरिदिनुपर्ने बताए ।
‘सदनको बैठकमा कुर्र्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ, भन्ने देखाएको छ,’ उनले भने, ‘जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र भर्याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस् ।’ उनले जनताको काम बोकेर आउने सांसदको काम एकै ठाउँबाट हुन सकेमा सुशासनको नमुना त्यही हुने बताए ।
अध्यक्ष तिमिल्सिनाले संविधानअनुसार धेरै कानुन बन्न बाँकी रहेको बताउँदै कानूनको मस्यौदा समयमा तयार नपारेर संसद र सांसदले अपजस खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गरे ।
त्यसैगरी सदन नचलेको समयमा चाहिएका पुस्तक पढ्न पाउने सुबिधा भएकाले सिंहदरबारस्थित संसद् सचिवालयको पुस्तकालको सदुपयोग गर्न अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई सुझाव दिए ।
संघीय संसद भवन नयाँ बानेश्वरमा चल्ने दुई दिने अभिमुखीकरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सहभागिता रहेको छ ।
अभिमुखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद सचिवालयको आधारभूत जानकारी, कानून तर्जूमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसद्को भूमिका, संसद् र नागरिकबीचको सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानून निर्माणलगायतका विषयमा प्रस्तुति हुनेछ ।












प्रतिक्रिया