
-मिना बुढाथोकी
सल्यान, २२ जेठ । शारदा नगरपालिका सल्यानले वन वातावरण संरक्षणका लागि यो वर्ष १५ हजार विभिन्न जातका वृक्षारोपन गर्ने भएको छ । नगरपालिकाले १५ वटै वडामा यो वर्ष विरुवा रोप्ने नगर प्रमुख सुरेश अधिकारीले बताए ।
यसरी वृक्षारोपण गरेवापत नगरपािलकाले विरुवा हुर्काउनका लागि किसानलाई प्रोत्साहन गर्ने बताएका छन् । उनले भने ‘वृक्षारोपन गरिएका विरुवा संरक्षण गर्ने लाई प्रति विरुवा २० रुपैयाँ समेत दिने छौँ ।’
विश्व वातावरण दिवसको अवसरमा नगपालिका प्रमुख अधिकारीले विरुवा रोप्नेलाई प्रति विरुवा २० रुपैयाँ दिने घोषणा गरेका हुन् । ‘प्रत्येक वर्ष वृक्षारोपन हुन्छ तर, कमै मात्रामा विरुवाहरु बाँच्ने गरेकाले यो वर्ष प्रोत्साहन रकम दिन लागेका छौँ’ उनले भने ।
नगरप्रमुख अधिकारीले वातावरणको संरक्षण विशेष कार्यक्रम अघि सारिने बताए । उनले भने, ‘सामुदायिक र राष्ट्रिय वनमा जहाँ रोपे पनि रुख रोपेर जोगाउनु पर्दछ ।’
यस्तै कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केशबहादुर बिष्टले वातावरणको संरक्षण गर्नु आजको आवश्यकता भएको बताए । दिगो विकासका लागि वन वातावरण संरक्षण्माा सवैले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
सल्यान जिल्लाका १० वटै स्थानीय तहले साझा घोषणा पत्र जारी गरि वन वातावरण क्षेत्रमा समेत नीति कार्यक्रम र बजेटको व्यवस्था गरेको जनाएका छन् । उनले भने, ‘स्थानीय तहबाट नै वन वातावरणमा संरक्षणका कार्यक्रम लागू गर्नु पर्दछ ।’
सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले वातावरणीय सन्तुलनमा असर नपर्ने गरि विकास निर्माणका कामहरु गर्नु पर्ने बताए । जिल्लामा विकास निर्माण गर्दा वनवातावरण संरक्षण हुने गरि गरिनु पर्नेेमा उनको जोड थियो ।
यस्तै जिल्ला बन अधिकृत अचल कुमार ढुंगानाले सल्यानमा ६६ प्रतिशत वन क्षेत्र रहेको भए पनि गुणस्तरयुक्त वन निर्माणका लागि पहल थाल्नु पर्ने आवश्यकता रहेको बताए ।












प्रतिक्रिया