
बर्दिया, २२ जेठ । ‘प्लाष्टिक प्रदुषण निमुर्ल पारौ, सके पुनः प्रयोग गरौ, नसके बहिस्कार गरौँ’ भन्ने मूल नाराका साथ मंगलबार विविध कार्याक्रमको आयोजना विश्व वातावरण दिवस मनाइएको छ । दिवस अवसरमा नेपाल पंछी संरक्षण संघले जिल्लाको एक मात्र ठूलो बढैयाताल सरसफाई गरेको छ ।
ताल छेउछाउमा रहको प्लाष्टिकजन्य फोहर पदार्थ सफा गरिएको संघले जनाएको छ । प्लाष्टिकजन्य फोहरले बढैयाताल कुरुप बन्दै गएपछि तालको सुन्दरता जोगाउन सरसफाई गरिएको पंछी संरक्षण संघकी फिल्ड कोडिनेटर पुजा गुरुङ्गले बताइन् ।
तालको सरसफाईमा संघमा आवद्ध संरक्षणकर्मी र भुरिगाउँस्थित बर्दिया एजुकेशन एकेडमीमा अध्ययनरत छात्रछात्राहरु सहभागी भएका थिए । तालको वरपर रहेका गुट्खाजन्य पदार्थका खोस्टा, प्लाष्टिकका झोला, पानीका बोलतलगायतका फोहर सफा गरिएको पंछी संरक्षण संघले जनाएको छ ।
दिवसकै अवसरमा पंछि संरक्षण संघले स्कूले बालबालिकाहरुलाई बर्दिया राष्ट्रिय निकुञ्जको परेवावडार क्षेत्रमा चरा अवलोकन गराइएको थियो । निकुञ्ज भित्र पर्ने बबईको परेवावडारदेखि सैनवार पोष्टसम्म करिव ५ किलोमिटर क्षेत्रमा विद्यार्थीहरुले विभिन्न प्रजातीका चराहरु अवलोकन गराइएको चराबिद् राम थाहीले जानकारी दिए । चराहरु पनि वातावरणको अभिन्न अंग भएकाले यिनीहरुको बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले निकुञ्ज क्षेत्रमा चरा अवलोकन गराइएको पंछी संरक्षण संघकी फिल्ड कोडिनेटर गुरुङ्गले बताइन् ।
वातावरणको पारिस्थितिक प्रणालीमा चरा/पंछीको महत्वपूर्ण भूमिका रहको मानिन्छ । केही व्यक्तिहरुले अझैपनि चराको महत्व नबुझि चरा मार्ने, चराका गुड भत्काउने जस्ता नराम्रा गतिविधी गर्ने गरेकाले त्यस विरुद्ध बालबालिकाहरु एकजुट भएर चरा संरक्षणमा लाग्न संरक्षणकर्मीले अनुरोध गरेका थिए ।












प्रतिक्रिया