४ कार्तिक २०८३, बुधबार

मनिषा डंगोल श्रेष्ठ बनिन मिसेस् नेपाल युनिभर्स

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । यस बर्षको मिसेस् नेपाल युनिभर्स २०१८ को उपाधि मनिषा डंगोल श्रेष्ठले प्राप्त गरेकी छिन् ।

काठमाडौँमा सोमबार इप्लानेटले गरेकोा कार्यक्रममा मनिषालाई मिसेस् नेपाल युनिभर्सको ताज पहिराइएको हो । मनिषाले अब फिलिपिन्सको मनिलामा आगामी डिसेम्बर महिनामा हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१८’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । मिसेस् युनिभर्स २०१८ आगामी डिसेम्बर ३ देखि १० तारिख सम्म फिलिपिन्समा संचालन हुनेछ ।

पूर्वमिसेस् नेपाल दिपा शाही राणा तथा लिटिल मिस वल्र्ड युनिभर्स विषेशता बुढाथोकीले मनिशालाई मिसेस् नेपाल युनिभर्स २०१८ को ताज पहिर्याइ दिएकी हुन् । मिसेस् युनिभर्स २०१८ मा सहभागी हुन जानुपूर्व मनिषाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखिकरण र प्रशिक्षण प्राप्त गर्नेछिन् ।

मिसेस् युनिभर्समा नेपालको यो पहिलो सहभागिता भने होइन । यस अघि ईप्लानेट प्रालिकै संयोजन र व्यवस्थापनमा सन् २०१३ मा मिना घिमिरेले मिसेस् युनिभर्स २०१३ मा सहभागिता जनाएकी थिइन् भने मिना प्रतियोगितामा मिसेस् कन्जिन्यालिटी अवार्ड जित्न सफल भएकी थिइन् । यसैगरी २०१४ को मिसेस् युनिभर्समा रजनी थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा रजनीले ब्युटीफुल लेडीको अवार्ड जित्न सफल भएकी थिइन् । यसैगरी मिसेस् युनिभर्स २०१६ मा पद्मिनी झाले नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् ।

आफूलाई फिलान्थ्रोपिष्ट भन्न रुचाउने मनिषा डंगोल श्रेष्ठ दुई सन्तानकी आमा हुन् । विगत एक दशक भन्दा लामो समय देखि उनी विशेषतः विभिन्न तरिका र प्रक्रियाबाट महिला सशक्तिकरणमा संलग्न हुँदै आएकी छिन् । मिस अस्कोल १९९७ का रुपमा पनि परिचय बनाइसकेकी मनिषा हाल लन्डनमा बस्दै आएकी छिन् । लन्डनमै लन्डन फेसन हाउस संचालन गर्दै आएकी उनले फेसन हाउस मार्फत् नेपाली फेसन, कला संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तारित गर्न सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छिन् ।

लन्डन फेसन हाउसको क्रिएटिभ हेड एवं निर्देशक रहेकी मनिशा नेप्लीज् युथ क्लबकी संस्थापक अध्यक्ष, पासा पुचः गुठी युके उपाध्यक्ष रहेकी मनिशाले लन्डन फेसन हाउसको ब्यानरमा मिसेस् नेपाल युके, मिस टिन नेपाल युके तथा मिस लिटिल नेपाल युकेको आयोजना गर्दै आएकी छिन् । एनआरएनए युकेको पहिलो युथ कोअर्डिनेटर समेत रहिसकेकी उनी एनआरएनएमा विभिन्न रुपमा सक्रिय रहँदै आएकी छिन् । हाल उनी लन्डन फेसन हाउसकै ब्यानरमा टुडेज् वुमन नामक महिलाहरुमा समर्पित अन्तर्राष्ट्रिय म्यागाजिनको तयारीमा जुटेकी छिन् ।