–बेलिना थापा
लमजुङ, २१ जेठ । प्रदेश नम्बर ४ का प्रहरी प्रमुख डीआइजी दानसिंह बोहराले जनताको मन जित्ने गरी काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरी कार्यलय लमजुङको सोमबार निरीक्षण गर्दै उनले भने, ‘जनताले प्रहरीसँग धेरै अपेक्षा गरेका छन् । नागरिकलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा राख्ने प्रहरीको पहिलो जिम्मेवारी हो ।’ जनताको अपेक्षा अनुसार काम गर्न नसकिए प्रहरीको छवि धमिलो हुने उनले बताए । ‘आचरण विगारेर काम गरेमा जनताले विश्वास गर्दैनन्’ उनले भने ।
अपराध नियन्त्रण गर्न, अनुसन्धान गर्न र पीडितलाई न्याय दिलाउने कार्यप्रति कुनै पनि सम्झौता नगर्न आग्रह गरे । मानवअधिकारको रक्षा गर्न, दैबी प्रकोपमा परेकालाई उद्धार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्न प्रहरीलाई निर्देशन दिए ।
जर्बजस्ती करणी, महिला हिंसा, लागुऔषध दुर्व्यसन, सुन तस्करीलगायतका अपराधको अवस्था बढ्दो रहेको र यस्ता खाले अपराधलाई निर्मूल पार्ने हिसाबले काम गर्नुपर्ने उनले बताए । उनले हरेक स्थानीय तहमा नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने गरी प्रहरी खटाइने बताए । ‘संघीय संरचनामा प्रहरीको कार्यलय तत्काल स्थानीय तहमा नपुग्न सक्छ । केहि स्थानीय तहमा यसअघि प्रहरी बसिसकेका छन् । कार्यलय नपुगेको ठाउँमा हामी प्रहरी पठाउन कुनै कसर बाँकी राख्दैनौँ’ उनले भने ।
द्वन्द्वको समयमा लमजुङको प्रहरी प्रमुख सम्हालेका डीआइजी बोहराले त्यतिबेलाको समयमा भएका राम्रानराम्रा व्यवहारलाई बिर्सन आग्रह गर्दै सरकारले चालेको समुन्नत समाज निर्माणका लागि एकजुट हुन जिल्लाबासीलाई अनुरोध गरे । लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले नागरिकमैत्री प्रहरी सेवाका लागि सधैँ तत्पर रहेको बताए । समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम गराउन नागरिकको पनि उत्तिकै दायित्व र कर्तव्य रहने भएकाले अपराध न्यूनिकरणमा सहयोग गर्न आग्रह गरे ।












प्रतिक्रिया