
काठमाडौँ, २० जेठ । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आइतबार सडक विभागका नवनियुक्त महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई भेटेर निर्माण व्यवसायीका विद्यमान समस्या र समाधानका विषयमा जानकारी गराएको छ ।
प्रतिनिधिमण्डलले भूकम्प तथा नाकाबन्दीका कारण प्रभावित निर्माण आयोजनाहरुको म्याद एक वर्ष थप गर्ने भनिएता पनि अहिलेसम्म थप नभएको भन्दै म्याद थप हुन सके हाल देशभर संचालनमा रहेका अधिकांश निर्माण आयोजनाहरुको काम समयमा नै सम्पन्न हुने जानकारी गराएको छ ।
महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले पछिल्लो समय निर्माण सामाग्रीमा लगातार मूल्यवृद्धि भइरहेको र त्यसपछि समेत निर्माण सामाग्रीको चरम अभाव भइरहेको तर्फ महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि ठोस पहल गरिदिन आग्रह गरेको छ । व्यवसायीहरुको माग अनुसार सार्वजनिक खरिद ऐन संशोधन हुनुपर्ने भन्दै प्रतिनिधिमण्डलले सरकारी निकायहरुबाट आह्वान हुने जुन सुकै वोलपत्रहरुमा पनि अनिवार्य मूल्य समायोजनको व्यवस्था हुनुपर्ने माग गरेको छ ।
निर्माण आयोजनाहरुमा आई राजनीतिक दलका कार्यकर्ताहरु लगायत स्थानीयले चन्दा माग गर्ने गरेको र चन्दा नदिए ज्यानै मार्ने जस्तो गम्भिर धम्की दिने र निर्माण सामाग्रीहरुमा निरन्तर आगजनी गरी करोडौंको आर्थिक क्षति पुर्याउने सम्मका क्रियाकलाप भई रहेकोे तर्फ प्रतिनिधिमण्डलले महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।
चन्दा आतंक बन्द गरी निर्माण आयोजनाहरुमा आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि पहल गरिदिन पनि प्रतिनिधिमण्डलले आग्रह गरेको महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिए । सडक विभाग लगायत विभिन्न सार्वजनिक निकायहरु अन्तर्गतका निर्माण कार्यहरु सम्बन्धित निर्माण व्यवसायीहरुले समयमै सम्पन्न गरेता पनि निर्माण व्यवसायीहरुले विभिन्न बजेट शिर्षकहरुबाट भुक्तानी पाउनु पर्ने भण्डै ४० अरब भन्दा बढि रकम नपाएको जानकारी प्रतिनिधिमण्डलले गराएको छ ।
समयमै भुक्तानी नभएका कारण निर्माण व्यसायीहरुको घर खेत नै लिलाम भइ सडकमा आउने परिस्थिति श्रृजना भएकोले सम्पन्न भईसकेका निर्माण कार्यहरुको बजेट निकासा तथा भुक्तानीका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन प्रतिनिधिमण्डलले आग्रह गरेको प्रवक्ता बुढाथोकीले बताए ।
विना बजेट निर्माण आयोजनाहरुको बोलपत्र आह्वान, कर्मचारीहरुको अनावश्यक सरुवा, सरकारी निकायबीच देखिएको समन्वय अभाव, सडक विस्तार कार्यमा अदालतको मुद्दा, मुअब्जाको समस्या जस्ता कारणले पनि निर्माण कार्यमा ठूलो समस्या देखिएको महासंघले जनाएको छ । जवाफमा महानिर्देशक श्रेष्ठले व्यवसायीका मागप्रति आफू सकारात्मक रहेको बताए । निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न सबै पक्ष मिलेर अघि बढ्नु पर्ने उनले बताए ।















प्रतिक्रिया