काभ्रे, १९ जेठ । धुलिखेल अस्पतालमा घुँडा र पुठ्ठा (जोर्नी) प्रत्यारोपण सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । धुलिखेल अस्पताल, नेपाल अर्थोपेडिक एशोसिएसन, अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एशोसिएसनको संयुक्त आयोजनमा भएको २ दिने सेमिनारमा ४० जना अर्थोपेडिक सर्जरी चिकित्सक र ३० जना नर्सको रहेको सहभागीता थियो ।
सेमिनारमा प्रोफेसर डा. बुलन्द थापा, डा.कुशराज श्रेष्ठ, प्रो.डा. दीर्घराज आरसी, प्रो.डा. अर्जुन लामिछाने, प्रो डा. दिपक श्रेष्ठ, डा. सुरेश पाण्डे, डा. श्रवण कुमार थापा, डा. कपिल मणि केसी, डा. ऋषि विष्ट, डा. सुमन बाबु मरहठ्ठा, डा. रवीन्द्र रेग्मी लगायतले आफ्नो ज्ञान तथा सिपको आदानप्रदान गरेका थिए ।
सहभागी डाक्टर तथा नर्सहरुलाई घुँडा र पुठ्ठाको जोर्नी प्रत्यारोपण कसरी गर्ने, कुन प्रविधि तथा सामाग्री प्रयोग गर्ने र त्यसका सिद्धान्तका बारेमा जानकारी दिइएको थियो । सेमिनारमा बनावटी हड्डी नै प्रयोग गरेर सहभागीलाई त्यसमा अभ्यास पनि गराइएको थियो । नेपालमा घुँडा र पुठ्ठाको जोर्नी प्रत्यारोपण सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार पहिलो पटक भएको हो ।
अष्ट्रेलियाबाट १६ जनाको डाक्टर र नर्सहरुको टोलीले सेमिनारमा अष्ट्रेलियामा प्रयोग गर्ने प्रविधि तथा ज्ञान सीप आदानप्रदान गरेका थिए । जेठ १६ देखि १७ गतेसम्म चलेको सेमिनारमा सहभागीहरुले सेमिनार निकै नै प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए । नेपाल अर्थोपेडिक एशोसिएसनका अध्यक्ष प्रोफेसर डा. बुलन्द थापाले नेपालमा जोर्नी प्रत्यारोपणसम्बन्धी सेमिनार हुनु एकदम राम्रो र प्रभावकारी भएको बताए । उनले यस्तो सेमिनार ठाउँ ठाउँमा पटक–पटक हुनुपर्ने बताउँदै यसमा आफुहरु निरन्तर लागि परेको बताए ।
उनले यस्ता निरन्तरको स्वदेशी तथा अन्तर्राष्ट्रिय सेमिनारले जोर्नी प्रत्यारोपणमा युवा सर्जनहरुमा रुची पैदा गर्ने उल्लेख गरे । प्रो. डा थापाले नेपालमा २ तिहाइ जनता गाउँमा बस्ने तर त्यसको उल्टो २ तिहाइ डाक्टर शहरमा बस्न भएकाले गाउँका हाजजोर्नी विरामीले उचित उपचार र ज्ञान नपाएको बताए ।
अष्ट्रेलियज नेप्लिज मेडिकल एण्ड डेन्टल एशोसिएसनका महासचिव डाक्टर कुशराज श्रेष्ठले सेमिनार निकै प्रभावकारी भएको चारैतिरबाट राम्रो प्रतिक्रिया आएको बताए । यसैगरि धुलिखेल अस्पतालका हाड जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर रवीन्द्र रेग्मीले यस्तो सेमिनारबाट सिनियर डाक्टरबाट जुनियर डाकटरलाई हाडजोर्नी प्रत्यारोपणबारे ज्ञान दिने बताए ।














प्रतिक्रिया