चितवन, १९ जेठ । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले विद्यालय स्तरमा नै कृषि शिक्षाको व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार प्याब्सन चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लामाले शैक्षिक पाठ्यक्रममा नै कृषिलाई विशेष महत्व दिनुपर्ने बताए ।
“कृषि पेशालाई अब मर्यादित र व्यवस्थित बनाउँदै लैजाने हो” उनले भने, “विद्यार्थीलाई यसतर्फ आकर्षित गर्नुपर्छ ।” उनले विद्यार्थीलाई उत्पादनमूलक क्षेत्रमा लाग्न प्रेरणा दिने खालको शिक्षा दिनुपर्नेमा जोड दिए ।
अध्ययन गर्ने नाममा विद्यार्थी र युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्ने मन्त्री लामाले बताए । अध्ययन र अवलोकन गर्न विदेश गएपनि त्यो अनुभव आफ्नै देशमा प्रयोग गर्नुपर्ने उनको भनाई छ । प्रदेश नम्बर ३ लाई समृद्ध बनाउने अभियानमा आ–आफ्नो ठाँउबाट सबैले सहयोग गर्न मन्त्री लामाले आग्रह गरे ।
जग्गाको वर्गीकरण गरेर कृषियोग्य जमिनको संरक्षण गर्ने र कृषिलाई आधुनिकिकरण गर्ने अभियानलाई विशेष प्राथमिकता दिएको मन्त्री लामाले बताए । प्रदेश सरकारले विशेष महत्वका साथ कृषिलाई नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिए ।












प्रतिक्रिया