
काठमाडौँ, १८ जेठ । नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दोस्रो हिमालयन ट्राभल मार्ट शुक्रबारदेखि यहाँ शुरु भएको छ ।
हिमालय क्षेत्रको पर्यटकीय सम्भावनालाई पस्कँदै पर्यटन बजारमा यसको प्रवर्द्धन गर्नका लागि सो मार्ट पर्वतीय पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो र अन्तर्राष्ट्रियस्तरको कार्यक्रम हो । मार्टमा ३७ देशका १६० प्रतिनिधि तथा ५४ भन्दा बढी क्रेता (बायर) सहभागी छन् । तीन दिनसम्म आयोजना हुने सो मार्टमा विभिन्न विषयमा १७ वक्ताको प्रस्तुति रहनेछ । मार्ट स्थल सोल्टी होटल परिसरमा पर्यटकीय बजार र गन्तव्य गतिविधिबारे जानकारी दिने ५५ स्टल राखिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र नेपाल पर्यटन बोर्ड मुख्य आयोजक रहेको सो मार्टको अन्य आयोजकमा नेपाल वायुसेवा निगम,प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टर रहेको छ । हिमालयन ट्राभल मार्टको ‘अन्तर्राष्ट्रिय ट्राभल ब्लगर तथा मिडिया कन्फ्रेन्स’ को उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गको रुपमा स्थापित गराउन तथा नेपालको पर्यटनलाई विश्व बजारमा प्रवर्द्धन गर्न मार्टले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको प्रवद्र्धन सरकारको मुख्य प्राथमिकतामा रहेको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीेले पर्यटकीय गतिविधि बढाउन सबै क्षेत्रको सक्रियता चाहिने खाँचो औंल्याउनुभयो । उहाँले सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउले लक्ष्य रहेकाले प्रभावकारी अभियान चलाउन आव २०७५/०७६ को बजेट तथा सरकारको नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ भन्नुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्यटकीय संभावना र गतिविधिलाई विश्व बजारमा चिनाउन मार्ट उपयोगी हुने उल्लेख गर्नुभयो । विश्वचर्चित ब्लगर्स, बायर्स र मिडियालाई जमघट गराई नेपालको प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य भएको उहाँको भनाइ थियो ।
मार्टमा सहभागी देश विदेशका विज्ञ पर्यटन व्यवसायीले पर्यटकीय संभावनाका विविध आयामबारे प्रस्तुतीकरण गर्दै नेपाललाई विश्व बजारमा पहिचान गराउन प्रवद्र्धनात्मक गतिविधिलाई फरक ढङ्गले प्रभावकारी बनाइनुपर्ने सुझाए । मार्टको पहिलो दिन नेपालमा सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने विषयमा छलफल भएको छ । मुख्य वक्ताका रुपमा इन्टरनेशनल चाइना इनभेस्टमेन्ट फोरम (आइसिआइएफ) का अध्यक्ष डा मर्कस लीले नेपालमा चिनियाँ पर्यटक आकर्षणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सन् २०३० मा ५० लाख पर्यटक भित्र्याउन नेपालले फरक किसिमले प्रचार प्रसार गर्नुपर्ने सुझाव दिनुभयो ।
पाटाका अन्तर्राष्ट्रिय अध्यक्ष डा चेरिस बोट्रिलले एशियामा मानव संशाधनको संभावनाबारे प्रस्तुतीकरण गर्दै पर्यटन प्रवर्द्धनमा युवा पुस्तालाई सक्रिय गराइनुपर्नेमा जोड दिनुभयो । विश्व पर्यटन बजारका नयाँ तथा पूराना सशक्त टुर अपरेटरहरूलाई क्रेताको जमघट रहेको मार्टमा हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलायन्स लगायत अन्य पर्यटकीय सेवा प्रदायक बिक्रेता कम्पनीहरूसँग व्यावसायिक भेटघाटको साथै बीटुबी मिटिङको अवसर मिलेको आयोजकले जनाएको छ ।
मार्टको औपचारिक उद्घाटन शुक्रबार नै सांझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुहुनेछ । हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको उत्पादनलाई विश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्ने आयोजकको भनाइ छ । –रासस















प्रतिक्रिया