
काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक सरकार विस्तार गरेका छ्न । संघीय समाजवादी फोरम नेपाललाई सहभागी गराएर सरकार विस्तार गरिएको हो । तर, थपिएका नयाँ मन्त्रीको शपथ हुन सकेको छैन । पाँच बजेका लागि तय शपथ कार्यक्रम सवा ६ बजिसक्दा पनि शुरु भएको छैन । शपथ समारोहमा सहभागि हुन भएका मन्त्री, पूर्वमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधि र पत्रकारहरु शितल निवासमा पर्खिरहेका छन् ।
तर, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा वार्ता गरिरहेका छन् । फोरमबाट अध्यक्ष यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद इस्तियाक राई सहकारी विकास मन्त्री भएका छन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीलेले प्रधानमन्त्रीको सिफारिसमा दिउँसै मन्त्री नियुक्त गरिसकेकी छन् । तर, अन्तिम समयमा आएर शपथ लम्बिएको छ ।
मन्त्री चयनका विषयमा फोरमभित्र चर्काे विवाद छ । फोरमले पाउने एउटा राज्यमन्त्रीको पनि टुंगो लगाउन सकेको छैन । नेपाल कम्युनिस्ट पार्टीसँग २ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि सरकारमा जान लागेको फोरमका नयाँ मन्त्रीको शपथमा ढिलाइ भएपछि केही ‘गडबडी’ भएको आशंका गर्न थालिएको छ । स्रोतका अनुसार उपेन्द्रले सरकारमा दोस्रो वरियता मागिरहेका छन् । यसअघि अर्थमन्त्रीका रुपमा चर्चा गरिएका ईश्वर पोखरेललाई दोस्रो वरियता दिएर रक्षामन्त्री बनाइएको थियो ।
यादवको यही मागका कारण शपथ लम्बिएको बुझिएको छ । बालुवाटार बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी रहेको स्रोतले जनायो । यसअघि दुई बुँदे सहमति भइसकेको अवस्थामा दुई पक्षबीचको वार्ताको विषय भने खुल्न सकेको छैन ।















प्रतिक्रिया