
काठमाडौं, १६ जेठ । युरोपेली कमिसनको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक इयान क्रिष्टोफ भिरियु र नेपालका लागि न्यूजिल्याण्डकी राजदूत जोआना केम्पकर्सले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालसँग भेटघाट गरी भूकम्पपछि भइरहेको पुनर्निर्माण अवस्थाबारे जिज्ञासा राखेका छन् ।
बुधबार प्राधिकरण कार्यालयमा भएका छुट्टाछुट्टै भेटमा युरोपेली कमिसनका भिरियु र न्युजिल्याण्डका राजदूत केम्पकर्सले खासगरी नीजि आवास तथा विद्यालय भवनहरुको पुनर्निर्माणका बारेमा जिज्ञासा राखे ।
प्रमुख कार्यकारी अधिकृत भुसालले नीजि आवास निर्माण तीव्र गतिमा भइरहेको तथा विद्यालय भवनहरुको पुनर्निर्माण पनि उत्साहजनक ढंगले अघि बढिरहेको जानकारी गराए । उनले आगामी आर्थिक वर्षभित्र नीजि आवासको कार्य सम्पन्न गरिने लक्ष्य लिइएको र प्राधिकरणलाई दिइएको समयभित्र पुनर्निर्माणका लगभग सबै कार्य सम्पन्न भइसक्ने पनि उल्लेख गरे ।
युरोपेली कमिसनको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक भिरियु र राजदूत केम्पकर्सले साधनस्रोतको सीमितता तथा संक्रमणकालका बाबजूद पुनर्निर्माणमा उल्लेख्य प्रगति भएकोमा प्राधिकरणको प्रशंसा गरे ।
प्रमुख कार्यकारी अधिकृत भुसालले पुनर्निर्माणमा युरोपेली युनियन र न्यूजिल्याण्डले पु¥याएको सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गरे ।












प्रतिक्रिया