मोरङ, १९ पुस । रिसको आवेगलाई थाम्न नसक्दा मोरङको थलहाका एक ब्यक्तिले आफ्नै घर जलाएर स्वाहा बनाएका छन् ।
घरायसी झगडापछि आवेगमा आएर आफ्नै घरमा आगो लगाई स्वाहा वनाएपछि जाडोमा उनको परिवार छिमेकीको घरमा शरण लिन बाध्य भएका छन् ।
मोरङको थलहा ४ का बंकरलाल सरदारले श्रीमतीसित झगडा हुँदा बिहीबार राति आफनै घरमा आगो लगाएका हुन् ।
घरमा मासु भात पकाइरहेका बेला बिहीबार साँझ सरदार दम्पतिबीच झगडा भएको थियो ।
जिल्ला प्रहरीका डिएसपी प्रभुप्रसाद ढकालका अनुसार श्रीमतीसित झगडापछि बंकरलालले भातको माड श्रीमतीको अनुहारमा फालेका थिए ।
तातो माडका कारण उनकी श्रीमतीको अनुहारमा फोका भएको छ ।
आफुमाथि माड फालिएपछि उनकी श्रीमती घरबाट वाहिर निस्कना साथ बंकरलालले आफ्नै घरमा आगो लगाई बाहिर हाँस्दै गरेको बेला स्थानिय वासिन्दाहरूले प्रहरीलाई खवर गरेका थिए ।
विराटनगरवाट प्रहरी र वारुणयन्त्र पुग्दा सम्म उनको तीनवटा फुसको घर जलेर नष्ट भएको थियो ।
घर भित्र रहेको पाँचवटा बाख्रा समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागिवाट २ लाख रुपैया भन्दा बढीको क्षति भएको छ ।
आगलागी पछि उनको तिनवटै घर जलेर नष्ट हुदा घाइते श्रीमतीसहित परिवारका अन्य सदस्यहरू छिमेकीको घरमा बस्न बाध्य भएका छन् ।
आगो लगाउने बंकरलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद थप गरि कारवाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
प्रहरीका अनुसार उनि यस अघि पनि पटक पटक श्रीमतीसित झगडा हुँदा घरमा आगो लगाउने धम्की दिदै आएका थिए ।















प्रतिक्रिया