२१ कार्तिक २०८३, शनिबार

पुनर्स्थापना भएका बालबालिकाको सपनाः बालगृहलाई सहयोग गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बेलिना थापा

लमजुङ, १५ जेठ । जिल्लाकोे क्व्होलासोंथर गाउँपालिका–९ गिलुङका विछोड परियारले बेंसीशहरस्थित बालगृहमा आश्रय लिएको १५ बर्ष भयो । २०६१ सालमा बालगृहमा आएका उनी अहिले १८ बर्ष भैसकेका छन् । उनले यो बर्ष एसइई समेत दिइसकेका छन् ।

पढाईमा निकै लगनशील बिछोड, एसइईमा ए प्लस ग्रेडमा पास गर्ने लक्ष्य रहेको बताउँछन् । आइतबार उनलाई बालगृहले उनको आमा डिलमाया परियारलाई जिम्मा लगाइदिएको छ । उनले भने, ‘बालगृहबाट टाढिनु पर्दा नरमाइलो लागेको छ । यहाँ भाईबहिनिसँग रमाउने रहरै बाँकी छ । तरपनि, मनलाई दह्रो बनाई जादैछु ।’ उनले टाढा भएपनि मनमा सँधै नजिक रहने बताए । ‘जति माया पाए यहाँबाट त्यो माया पूर्ण छ । अब भविष्यमा राम्रो पढेर जागिर खान्छु । मेजर म्याथ पढ्ने सोच बनाएको छु । पहिलो कमाई बालगृहलाई नै सहयोग गर्नेछु’ उनले भने ।

उनीसँगै परिवारलाई पुनर्स्थापना गरिएको नवलपरासीको दुम्कीवास गाउँपालिका–२ की शान्तिमाया गुरुङको पनि आफै हुर्कीएको बालगृहलाई सहयोग गर्ने मन छ । उनको पुरानो घर बाग्लुङपानी हो । ‘सबै कुरा यहिँबाट सिके । पढे, बढे । अब पढाई सकाएर म्यानेजमेन्ट पढ्छु । म्यानेजर बन्नेछु । आफ्नो कमाईबाट बालगृहमै आएर सहयोग गर्ने मन छ’ उनले भने । उनले बालगृहको माया सधै मनमा रहने बताइन् । उनलाई उनकै बुवा हरि गुरुङलाई जिम्मा लगाइएको बालगृह संचालक संस्था आदर्श महिला तथा बालबालिका केन्द्रकी सचिव हुमा गुरुङले बताइन् ।

२०६३ सालमा बालगृह आएकी शान्तीमाया पनि १८ बर्ष पुगिन् । केन्द्रकी अध्यक्ष सानुमाया गुरुङले बालगृहमा रहेका बालबालिका आफ्नै सन्तान जस्तो लाग्ने बताइन् । उनले बालगृहको माया नबिर्सन आग्रह गर्दै आफूलाई पनि परिवारमा गएका बालबालिकाको सँधै सम्झना रहने बताइन् । आवश्यकता अनुसार परिवारमा गैसकेपछि पनि पढाईमा समस्या भएको अवस्थामा बालगृहले सहयोग गर्ने बताइन् ।

२०६१ सालबाट संचालनमा आएको बालगृह मुठिदानको भरमा चलिरहेको छ । विभिन्न ठाउँबाट सहयोग संकलन गरि एक करोड अक्षय कोष बनाउने लक्ष्य रहेको बालगृहमा ७५ लाख पुगेको छ । मूलधन नमासी त्यसबाट आउने व्याजबाट बालगृहमा खर्च गरिने अध्यक्ष गुरुङले बताइन् । बालगृह संघसस्थाको सहयोगमा चल्दै आएको छ ।

३० जनालाई संरक्षण दिदै आएको बालगृहमा अहिले ४ बालक र ९ बालिका गरि १३ जना बालबालिकाले आश्रम लिइरहेका छन् ।