
काठमाडौं, १४ जेठ । सभामुख कृष्णबहादुर महराले महिनावारी हुनुलाई अशुद्ध वा अछुतको रुपमा विभेद गरिनु सामाजिक अपराध भएको बताएका छन् ।
पहिलो पटक नेपालमा सरकारी स्तरबाट मनाइएको राष्ट्रिय मर्यादित महिनावारी दिवसको उद्घाटन गर्दै सभामुख महराले भने, ‘महिनावारी स्वभाविक शारीरिक प्रक्रिया हो, महिलाहरुका लागि यो विशिष्ट अवस्था हो । यो बेला महिलाहरुको स्वास्थ्य र सरसफाइको उचित हेरचाह गर्नुपर्छ, अशुद्ध भएको भनि विभेद गर्ने होइन ।’
कानुनी हिसाबले सबैखाले विभेदलाई सामाजिक अपराधका हिसाबले राज्यले नै घोषणा गरिसकेको भन्दै सभामुख महराले हरेक नागरिकलाई यसबारे जागरुक बनाउन व्यापक जनचेतना फैलाउनुपर्ने बताए ।
‘समाजका कुरिति, अन्धविश्वास र विभेदलाई हटाउन व्यापक जनचेतना जगाउनुपर्छ’, उनले भने, ‘राज्यका तर्फबाट खानेपानी, शिक्षा, महिला बालबालिका र स्वास्थ्य मन्त्रालयले पहिलो पटक यस्तो कार्यक्रम राखेर अभियान शुरु गरेको छ । अब राज्य र नागरिक स्तरबाटै जागरण फैलाउने कार्यक्रमहरु व्यापक बनाउन म आग्रह गर्दछु ।’
नेपाली समाजका सबैखाले विभेदहरुको अन्त्यका लागि राज्यले पहलकदमी लिइरहेको भन्दै परम्परा, संस्कार वा चालचलनका नाममा हुने जातीय, लैंगिक, सामाजिक, साँस्कृतिक विभेदहरुको अन्त्यका लागि सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।












प्रतिक्रिया