काठमाडौँ, १८ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई जनताले अनुमोदन गरेको दाबी गर्नुभएको छ । मेची–महाकाली रथयात्राको समापन सभालाई शुक्रबार खुलामञ्चबाट सम्बोधन गर्दै थापाले यस्तो दाबी गर्नुभएको हो ।
काँग्रेस, एमाले, एमाओवादीलगायतका दलसँग निक्कै आक्रमक देखिनु भएका थापाले नेपाललाई हिन्दु राष्ट्र बनाउन कुनै शक्तिले चाहेर पनि रोक्न नसक्ने चुनौति दिनुभयो ।
थापाले चुनौतिकै शैलीमा माघ ८ भित्र संविधान नदिए जनताले सडकबाट विकल्प खोज्ने चेतावनी दिनुभयो । रथयात्रासँग बन्दुकको भन्दा बढी तागत रहेको उहाँको भनाई थियो ।
उहाँले खुलामञ्चबाट तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गर्दै माघ ८ मा संविधान नदिए नैतिकताका आधारमा ठाउँ छोड्न तयार हुनुपर्ने प्रस्ताव राख्नुभयो । उहाँले घुमौरो पारामा जनताले राजनीतिक दलहरुको ठाउँमा अर्को शक्ति (राजतन्त्र) लाई ल्याउने मन बनाइसकेको समेत दाबी गर्नुभयो ।
रथयात्राका क्रममा लाखौं जनताले समर्थन दिएको र नयाँ परिर्वतनको बिहानी खोजेको पनि उहाँले दाबी गर्नुभयो । उहाँले सनातन हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्रको संकल्प पुरा नगरेसम्म विश्राम नलिने भन्दै त्यसका लागि तेस्रो जनआन्दोलन गर्ने चेतावनी दिनुभयो ।

















प्रतिक्रिया