
काठमाडौँ, १३ जेठ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक शुरु भएको छ । आइतबार रक्षामन्त्री ईश्वर पोखरेल र रक्षा सचिव विष्णु लम्सालको उपस्थितिमा जङ्गी अड्डामा प्रधान सेनापति, पि.एस.ओज रथी र अन्य रथी तथा अधिकृतहरु सम्मिलित बैठक शुरु गरिएको हो । नियमित रुपमा संचालन हुँदै आएको बैठक दुई दिन सम्म चल्नेछ ।
कार्यक्रममा पोखरेलले आफ्नोमन्तव्य राख्दै नेपाली सेनाले राजनैतिक नेतृत्वलाई सदैव स्वीकार गरेको हुनाले नेपालीहरु सेनाप्रति गौरव गर्ने बताए । देशको आवश्यकता आर्थिक समृद्धि भएकोले नेपाली सेनाको योजना र क्रियाकलाप सोहि अनुरुप हुनु पोखरेलले बताए ।
सोहि क्रममा वर्षायाम सुरु भएसँगै हुन सक्ने प्राकृतिक जोखिम र क्षति न्युनिकरणको लागि नेपाली सेनालाई तयारी अवस्थामा रही नागरिकसँग सदैव सम्वादमा रहेर एक अर्काको समस्या समाधानमा सहयोगी बन्न निर्देशन पनि दिए ।
कठिन परिस्थितीमा पनि नेपाली सेनाले आफ्नो स्वाभिमानलाई सदा उच्च राख्न सफल भएको हुनाले आगामी दिनमा समेत नेपाली सेनाको स्वाभिमान उच्च रहनेमा विश्वस्त रहँदै ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ को सफलताको कामना समेत व्यक्त गरे ।
बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।
यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पुर्याउन थप सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।












प्रतिक्रिया