
काठमाडौँ, १२ जेठ । नेपाल क्यान्सर हस्पिटल र नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा शनिवार राजधानीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित चामुण्डा पार्टी प्यालेसमा आयोजित शिविरमा महिलामा बढी हुने स्तन तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण गरिएको थियो ।
शिविरमा ४ सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् । गोकर्णेश्वर नगरपालिकावडा नम्बर ६ को आर्थिक सहयोग तथा लक्ष्मीनारायण महिला समूहको आयोजनामा भएको शिविरमा कोइराला मेडिकल हलको तर्फबाट निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरको उद्घाटन एक कार्यक्रमबीच पूर्व मन्त्री तथा नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले गरेकी थिइन् ।
महामारीको रुप लिइरहेको क्यान्सर रोग विरुद्ध यस्ता शिविरहरु निरन्तर आयोजना गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले बताइन् । सांसद सरिता न्यौपानेले स्थानीय स्तरमा प्रभावकारी जनचेतना सिर्जना गर्न यस्ता शिविरहरु महत्वपूर्ण हुने बताइन् ।
लक्ष्मीनारायण महिला समूहकी अध्यक्ष इन्दिरा दाहालको सभापतित्वमा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्यालले आगामी दिनमा पनि यस्ता खाले शिविर आयोजना गरिने बताए ।
समूहकी सचिव गीता अर्यालले शिविरमा जाँच गराउनेलाई कोइराला मेडिकल हल तथा कान्तिपुर अप्टिकलले उपलब्ध गराउने सेवामा विशेष छुट दिइने जानकारी दिइन् । शिविरमा कोइराला मेडिकल हलको तर्फबाट प्राविधिक सहयोग पनि उपलब्ध गराइएको थियो ।












प्रतिक्रिया