२१ कार्तिक २०८३, शनिबार

हवाईभाडा बढाए चरणवद्ध आन्दोलन गर्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-नृपराज हमाल

हुम्ला, ८ जेठ । सरकारले वैशाख २६ गते मन्त्रीपरिषदबाट हवाइ सेवाहरुको भाडादरमा ५४ प्रतिशत वृद्धि गर्न निर्यण गरेसँगै कार्यान्वयन गर्न लागेको भन्दै हिमाली जिल्ला हुम्लाका नागरिक संगठनहरुले ज्ञापनपत्र मार्फत भाडादर नबढाउन माग गरेका छन् ।

हुम्ला उद्योग बाणिज्य संघको अगुवाईमा जिल्लामा क्रियाशिल नागरिक संगठनहरुले हवाईभाडा नबढाउन माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएका छन् । २ बुँदे माग राख्दै ३ दिन भित्र हवाई सेवाका कम्पनीहरुले भाडादरमा समायोजन नगरे चरणवद्ध आन्दोलन गर्ने उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नामग्याल तामाङ्गले जनाए ।

जिल्ला प्रशासन कार्यालय, हुम्ला मार्फत संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापन पत्र पठाएका छन् । ज्ञापन पत्रमा नागरिक उड्डयन प्रधिकरण, नेपाल एअरलाईन्स र निजी एअरलाईन्सलाई समेत जानकारी पठाईएको छ । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले सम्बन्धित निकायमा तत्काल ज्ञापनपत्र पठाउने बताए ।

यातायातको एकमात्र हवाई सेवा भएको हुम्लामा आवतजावतका लागि अन्य विकल्प नभएकाले हवाई भाडा बढाउँदा सबैक्षेत्र प्रभावित हुने भएकाले सरकारले तत्काल भाडाबृद्धि गर्नु उचित नहुने लामाको भनाई छ । ज्ञापनपत्रमा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिति २०७५ बैसाख २६ को निर्णय अनसार ५४ प्रतिशत भाडा बढाउन दिएको स्वीकृति तत्काल फिर्ता गर्न माग गरिएको छ ।

गतबर्ष २०७४ जेठ २० गते हुम्लामा बसेको सर्वपक्षीय बैठकमा गरिएका निर्णय कार्यान्वयन गर्न माग गरिएको छ । जस अनुसार नेपालगञ्ज र सुर्खेतबाट हुम्लामा उडान भर्ने नीजि एअरलाईन्सहरुले हप्तामा दुईवटा सहुलियत उडान गर्नु पर्नेछ । प्रत्येक चाटर्ड उडानमा कम्तिमा चारजना नेपालीलाई प्राथमिकतामा राखिनु पर्ने उल्लेख गरिएको हुँदा कार्यान्वयन गर्न माग गरिएको छ ।

हाल सिमकोटबाट नेपालगञ्जको भाडा ५ हजार तीन सय रहेको छ भने नेपालगञ्जबाट सिमिककोट आउँदा चार्टड फ्लाईटको नाममा निजी एअरलाईन्सले १० हजार छ सय भाडा लिने गरेका छन् । मकालु एअरको जहाज दुर्घटनापछि सुर्खेतबाट भने उडान हुन सकेका छैनन् । नेपालगञ्जबाट नियमित उडान गरि रहेका बिमान कम्पनीहरुले मानसरोवर कैलाश दर्शनका लागि आउने भारतीय तिर्थयात्रीलाई प्राथमिकतामा राख्दा नेपालीहरुलाई टिकट पाउनै मुस्किल भएको नेकपाका नेता डवल रावतले बताए ।

यता नेपालगञ्जबाट सिमिकोटका लागि सहुलियत दरको टिकटका लागि नीजि एअरलाईन्सका कार्यालयहरुमा राती देखिनं लाईन बस्नु पर्ने बाध्यता रहेकाले बालबालिका र बृद्धबृद्धाहरुलाई सहुलियत टिकट पाउन मुस्किल भएको ताँजाकोटका लाली रोकायाले बताए । कर्णाली प्रदेश सरकारले सुर्खेतबाट कर्णालीका जिल्लाहरुमा नियमित उडानको व्यवस्था गर्ने घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।
हुम्लामा नेपाल एअरलाईन्सले हप्तामा एक पटक र नीजि एअरलाईन्सका तारा, सिता, समिट र मकालु एअरलाईन्सका जहाजले नियमित उडान भर्ने गरेका छन् ।