
काठमाडौँ, ६ जेठ । सत्तारुढ दल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ पाँच बजे बोलाइएको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा छलफल हुनेछ । सरकारले सोमबार नीति तथा कार्यक्रम ल्याउने यसअघि नै घोषणा गरिसकेको छ ।
शनिबार मात्र संघीय संसद् भवन नयाँ बानेश्वरमा नेकपाको संसदीय दलको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री केपी ओलीले समृद्धिको खाकासहित सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले यसलाई पास गराउने र कार्यान्वयन गर्ने गरी प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरेका थिए ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने बताएका थिए । उनले ठूला ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिने बताएका थिए ।
सुखी नेपाली र समृद्ध नेपालको अभियान घोषणा गरेको सरकारले ल्याउने नीति तथा कार्यक्रमलाई निकै चासोका साथ प्रतिक्षा गरिएको छ । यसअघि एमाले र माओवादी सरकारमा थिए भने यही जेठ ३ गते गते पार्टी एकतापछि अब एक दल नेपाल कम्युनिष्ट पार्टी मात्रै छ ।















प्रतिक्रिया