सिन्धुपाल्चोक, १६ पुस । भदौ पहिलो साता अविरल वर्षाका कारण क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको स्याउले गाविस १ मा रहेको मंगला भैरव प्राविको पक्की भवन निर्माण हुने भएको छ ।
उक्त प्राविको एसिया फ्रेन्डसिप नेटवर्कले सात कोठे पक्की भवन निर्माण गरिदिने भएको हो । बर्खाका वेला भासिएको विद्यालयको तीन वटा पक्की भवनमा अध्ययन गराउन संम्भव नभएपछि विद्यार्थीहरुलाई बाँसको टहरामा त्रिपालको छानो हालेर अध्ययन गर्नुपर्ने बाध्यता थियो ।
विद्यार्थीको त्यस्तो कठिन अवस्था बारे थाहा पाएपछि एसिया फ्रेन्डसिप नेटवर्क जापानका अध्यक्ष इसिमारो योजिरोेलगायत संस्थाका पदाधिकारीले विद्यालयको अवलोकन गरेका थिए ।
त्यसलगतै एसिया फ्रेन्डसिप नेटवर्क नेपालका अध्यक्ष गणेशमान लामा र सञ्चारकर्मी तथा नेटवर्क जापानका सदस्य प्रेम बानियाँले मंगलबार सात कोठे भवनको शिलान्यास गरेका हुन् ।
जापानी नागरिक कुमिहाशी काजुकोको सम्झनामा उनकी छोरी कुमिहाशी ताकाकोको आर्थिक सहयोगबाट भवन बन्ने भएको हो । मंगलबार संस्था र विद्यालय व्यवस्थापन समितिबीच विभिन्न ९ बुँदै सम्झौतासमेत भएको छ । संस्थाले ‘यू’ आकारको एकतले विद्यालय भवनसहित पुस्तकालय निर्माण गरिदिने भएको छ ।
साथै विद्यालयलाई आवश्यक अन्य फर्निचरसमेत उलपब्ध गराइने सम्झौता भएको छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको नेटवर्कले हालसम्म ७३ विद्यालय निर्माण गरिसकेको छ ।
















प्रतिक्रिया