नयाँदिल्ली, ५ जेठ । नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी दिल्ली डेयरडेभिल्स विजयी भएको छ । शुुक्रबार राति सम्पन्न खेलमा डेयरडेभिल्सले महेन्द्रसिं धोनीको टिम चेन्नई सुपर किङ्सलाई ३४ रनले पराजित गरेको हो ।
१ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १ सय २८ रन मात्रै बनाउन सक्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए । रविन्द्र जडेजाले २७, सुरेश रैना १५, महेन्द्र सिंह धोनी १७ र शेन वाट्सनले १४ रन बनाए ।
चेन्नईबिरुद्धको खेलमा सन्दीपले ४ ओभरमा १ विकेट लिए भने २१ रन खर्चेका थिए । चौथो ओभर भने उनका लागि महंगो भयो जहाँ उनले ११ रन खर्च गर्नुपर्यो । तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनालाई क्याच आउट गरेका थिए ।
आफ्नो पहिलो र तेस्रो ओभरमा २र२ रनमात्र दिएका सन्दीपले लोभलाग्दो प्रदर्शन गरे । दिल्लीका लागि अमित मिश्रा र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।
टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन जोड्यो । दिल्लीका रिसब पन्तले ३८, हर्सल पटेलले ३६ र विजय शंकरले ३६ रन बनाए । दिल्लीको अघिल्लो खेलमार्फत सन्दीपले आईपिएलमा डेब्यु गरेका थिए ।
विराट कोहली, एबी डे भिलियर्सलगायत स्टार खेलाडी सम्मिलित रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध सन्दीपले चार ओभर बलिङ गर्दै एक विकेट लिएर २५ रन खर्चिएका थिए ।
चेन्नाई १३ खेलमा १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा र अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्लीको ८ अंक छ । – एजेन्सी















प्रतिक्रिया