
काठमाडौँ, ४ जेठ । हिजो पुनर्गठन भएको नेपाल कम्युनिष्ट पार्टीले आज साँझसम्म केन्द्रीय समितिको टुङ्गो लगाउने भएको छ । केन्द्रीय संरचनालाई पूर्णता दिदै तल्ला कमिटीहरुलाई समेत जतिसक्यो छिटो पूर्णता दिने नेकपाको तयारी छ ।
नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुनेछ । यसमा तत्कालीन एमालेका २ सय बाहेक थप ४१ जना सदस्यको नाम छनोट गर्नुपर्नेछ भने तत्कालीन माओवादीले २ जनालाई केन्द्रीय समितिमा पठाउने छ । उनीहरुको पनि नाम टुङ्गो लागेको छैन ।
यसैगरी ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमालेका २६ जना स्वतः सदस्य हुनेछन् भने तत्कालीन माओवादीको तर्फबाट छान्नुपर्ने १९ जनाको नाम टुङ्गो लागेको छैन ।
केन्द्रीय समिति र स्थायी समितिमा रहने नेताहरुको आज साँझसम्म टुङ्गो लाग्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । केन्द्रीय र स्थायी समितिको टुङ्गो लागेपछि पोलिटब्यूरो सदस्य चयनको प्रक्रिया अघि बढ्नेछ । पोलिटब्यूरो बढीमा १ सय ३५ सदस्यसम्मको हुने महासचिव पौडेलले बताए ।
केन्द्रीय संरचनाले पूर्णता पाउनासाथ प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुको एकीकरण अघि बढ्नेछ । यसअघि बुधबार ९ सदस्यीय केन्द्रीय सचिवालय बनिसकेको छ । तत्काल आवश्यक बिधि र मापदण्ड बनाएर अबको तीन महिना भित्र तल्ला कमिटी र भातृ संगठनहरुको एकीकरण गरिसक्ने नेकपाको योजना छ ।
बिधान मस्यौदा कार्यदलले प्रदेश कमिटी १५१ र जिल्ला कमिटीमा न्यूनतम ७५ सदस्यीय हुने प्रस्ताव गरेको थियो । महानगरपालिका कमिटी ७५ सदस्यीय, उपमहानगरपालिका कमिटी ६१ सदस्यीय, नगरपालिका र गाउँपालिका कमिटी ५१ सदस्यीय रहने तथा वडा कमिटी २५ सदस्यीय हुन मस्यौदा समितिको प्रस्वात छ । तर, केन्द्रीय समितिको आकार बढेसँगै तल्ला कमिटीहरुको पनि आकार बढ्ने सम्भावना छ ।















प्रतिक्रिया