काठमाडौँ, १६ पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले सबै नेता कमाण्डर बन्न खाजेकाले निर्धारित मितिमा संविधान जारी गर्न समस्या भएको बताउनु भएको छ ।
राजधानीमा बुधबार अनेरास्ववियु त्रिवि निजी तथा सामुदायिक क्याम्पस राष्ट्रिय कमिटिले आयोजना गरेको ‘नेपालको सन्दर्भमा उच्च शिक्षा’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘हाम्रो देशका नेताहरु सबै कमाण्डर नै कमाण्डर भए कोही पनि सिपाही बन्न नचाहेका कारण निर्धारित मितिमा संविद्यान जारी गर्न समस्या भयो,’ नेपालले भन्नुभयो, ‘एक जना कमाण्डर हुने हो र उसैले नेतृत्व गर्ने हो भने उहिल्यै संविधान बनिसक्ने थियो ।’
उहाँले नेल्सन मण्डेला, जहवाराल नेहरु, माओत्सेतुङ जस्ता नेताको उदाहरण दिदैँ नेपालमा त्यस्ता नेताको अभाव भएको बताउनुभयो । उहाँले कार्यक्रममा एमाओवादीलाई जनमतको कदर गर्न आग्रह गर्दै आफुलाई चित्त नबुझेका कुरामा फरक मत दर्ज गरेर अघि बढ्न सुझाव दिनुभयो ।
‘जनताले जुन हैसिएत दिएका छन्, आफु त्यही अनुरुप अघि बढ्ने हो,’ नेपालले भन्नुभयो, ‘हामी ०४७ सालको संविधान जारी गर्ने बेलामा अल्पमतमा थियौँ, चित्त नबुझेका कुरामा फरक मत राखेर अघि बढ्यौँ ।’
उहाँले संविधान गीता र बाइबल जस्तो नभएको भन्दै आफु बहुमतमा रहेका बेला संशोधन गर्न सकिने भन्दै अवरोध नगर्न एमाओवादीलगायतका दललाई सुझाव दिनुभयो ।















प्रतिक्रिया