४ कार्तिक २०८३, बुधबार

यसरी देखिन्छ निर्माता माधव वाग्लेको नियतमा खोट !

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म निर्माता माधव वाग्लेको घरबाट प्रहरीले २ करोड ५२ लाख रूपैंया बराबरको नक्कली नोट जफत गर्‍यो । वाग्ले चलेका फिल्महरूका निर्माता हुन् । उनले यस्ता पैसाको प्रयोग विभिन्न फिल्ममा गर्दै आएका थिए । ‘लुट’ सिक्वेल उनको फिल्म हो । जसका निर्देशक हुन्, निश्चल बस्नेत । फिल्ममा यस्ता नक्कली नोटको प्रयोग गरिने भए पनि बाँडेर विभिन्न व्यक्तिका घरमा राख्ने चलन छैन । नोट एकमुष्ठ सुटिङ क्रुसँग हुन्छ । प्रयोग सकेपछि त्यसलाई नष्ट गरिन्छ । यस्तो संवेदनशील विषयमा वाग्ले किन गम्भिर भएनन् ? अनुसन्धानको पाटो यहाँदेखि नै सुरू भएको छ ।

बुधबार प्रहरीले वाग्लेसहित ६ जनालाई पक्राउ गरेको थियो । सुराककै आधारमा प्रहरीले पक्राउ गरेको थियो । वाग्लेसहित सुर्खेत स्थायी ठेगाना भएका महेन्द्र बोगटी, छापाखानाका सञ्चालक धादिङका प्रकाश सुवेदी र भक्तपुरका विकेश नापित तथा सिन्धुली घर भई ललितपुरको लुभू बस्ने सुजित तामाङ र साजन तामाङलाई पक्राउ गरियो । वाग्लेबाहेक सुजित र साजनको घरमा पनि रकम फेला परे ।

बोगटीले दिएको सूचनाकै आधारमा प्रहरीले सुजित र साजनको कोठामा खानतलासी गर्दा ७ लाख ४३ हजार रुपैयाँ बरामद गरेको थियो । ‘यसबारे गहन अनुसन्धान हुन्छ । फिल्म सुटिङको भनी दाबी गरिए पनि यसको प्रयोजन बजारमा किन गरियो, घरमा किन राखियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, प्रहरी अधिकारीले भने, ‘यस्तो कामका लागि अनुमति छ की छैन ? भन्ने पनि खोजी भइरहेको छ ।’

प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली रुपैयाँ जफत गरेको छ । ‘बाँडेर घर–घरमा राखिएको अवस्थामा फेला परेको हो । त्यहि नोट बजारमा पनि पुराइएपछि अनुसन्धान हुन्छ ।’

त्यसो त महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले नोट छपाईका लागि राष्ट्र बैंकसँग अनुमति नलिएको पनि जानकारी दिइसकेका छन् । ‘ठ्याक्कै नोट बनाउने, त्यसलाई बजारमा पनि लागे अनि अहिले फिल्मी प्रयोजनका लागि भनेर प्रतिरक्षा गर्ने ? यस्तो अपराधको काममा सबैलाई अनुसन्धानमा तानिन्छ’, सुरक्षा अधिकारीले भने,‘यो विषय किनारा लगाएरै छाड्ने हो ।’

नेपाल चलचित्र निर्माता संघलेसो रकम चलचित्र प्रयोजनका लागि छापिएको दाबी गर्दै आएको छ । रकम चलचित्र ‘चंगाचेट’को छायांकनका लागि छापिएको निर्देशक दीपेन्द्र के खनालले बताए । तर बजारमा पुराउनका लागि पनि थियो त ? यसबारे खनालको प्रतिक्रिया के छ ?

त्यसो त सामाजिक सञ्जालमार्फत निर्देशक बस्नेतले पनि सांकेतिक रूपमा वाग्लेको बचाऊ गरेका छन् । प्रयोजनहिन ठाउँमा प्रयोग गर्नुको औचित्य र त्यसले निम्त्याउने संकटका बारेमा भने केही बोलिएको छैन । के, वाग्लेको नियतमा खोट नभई रकम घर–घर पुगे ? प्रहरी अधिकारीका अनुसार अपराध अनुसन्धानमा प्रभाव पार्नेगरी बचाऊ गर्ने निर्देशक वा फिल्मका जोकोही भए पनि छानविनमा तान्न सकिने छ ।