काठमाडौं, २ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियामा विलम्बसँगै दुवै पार्टी संगठनका नेता फुर्सदिला बनेका छन् ।
दुई पार्टीबीच एकता प्रक्रिया चलिरहेको र आ–आफ्नो संगठनको गतिविधि गर्दा एकतामा असर पर्ने भन्दै काम रोकिँदा दुवै पार्टीका नेता फुर्सदिला देखिएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
एकता प्रक्रिया सुस्ताउँदा दोस्रो तथा तेस्रो तहका नेतासमेत अलमलमा परेका छन् । एकता प्रक्रिया ढिलाइका कारण दुवै पार्टीको संगठन विस्तार, नवीकरण, संगठन पुनर्गठनलगायतका काममा समेत असर देखिएको छ ।
दुई पार्टीबीच पार्टी एकता भइहाल्छ र एकीकृत पार्टीपछि नयाँ ढंगबाट भेला, अधिवेशन तथा संगठन विस्तारलगायतका काम गर्ने प्रतीक्षामा रहेका दुवै पार्टी संगठन अहिलेको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा अलमलिएका छन् ।
दुवै पार्टीका दोस्रो र तेस्रो तहका नेता सम्मिलित दुई कार्यदलले गत २० चैतमा एकता संयोजन समितिसमक्ष एकताको खाका सम्मिलित प्रतिवेदन बुझाएका थिए । त्यससँगै कार्यदलमा सम्बद्ध दोस्रो तथा तेस्रो तहका नेता फुर्सदिला बनेका थिए ।
कार्यदलमा मिल्न बाँकी विषय पार्टी एकता संयोजन समितिमा पनि मिल्न नसकेपछि ४ वैशाखमा बसेको बैठकले विवाद मिलाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । एकता संयोजन समितिले एकताको अन्तिम टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएपछि समितिमा आबद्ध नेतासमेत फुर्सदिला बनेका थिए ।
दुवै पार्टी एकतानजिक रहेको बताउँदै आएपछि केन्द्रीय समिति सदस्यहरूले पार्टी संगठनको काम अघि बढाउन सकेका छैनन् । एमालेले यसअघि निर्णय नै गरेर एकता हुन लागेको भन्दै संगठनका अधिवेशन तथा सम्मेलनहरू रोक्न निर्देशन दिएको थियो ।
माओवादी केन्द्रले पनि दुई संगठनमा असर पर्ने कार्य नगर्न निर्देशन दिएको छ ।एकतामा विलम्ब देखिएपछि एमाले महासचिव ईश्वर पोखरेलले केही दिनअघि युवा संघको एक कार्यक्रममा आन्तरिक संगठनका गतिविधि रोक्न नहुने अभिव्यक्ति दिएका थिए ।
एकता विलम्ब भइरहेकै बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर एकता प्रक्रियामा आएको गत्यारोधप्रति असन्तुष्टि जनाउँदै चाँडो अघि बढाउन सुझाव दिएका छन् । नेपालले एकतामा सुस्तता आएको भन्दै दाहाललाई सक्रिय बन्नसमेत आग्रह गरेका बताइएको छ ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकताका विषयमा दुई पार्टीबीच विभिन्न तह र चरणमा औपचारिक एवं अनौपचारिक रूपमा छलफल जारी रहेको बताएका छन् । ‘हामीबीच छलफल चलिरहेको छ, औपचारिक–अनौपचारिक –पमा विभिन्न ढंगले छलफल जारी छ, अब छिट्टै यसले सार्थकता पाउँछ,’ उनले राजधानीसँग भने ।
पार्टी एकताका लागि राजनीतिक तथा वैचारिक विषय एवं एकीकृत पार्टीको नाम, लक्ष्यसमेतमा सहमतिपछि हस्ताक्षर गरिसकेका दुई दलमा पछिल्लोपटक सरकार सञ्चालनलगायतका विषयले गर्दा केही मनमुटावजस्तै देखिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भने अब चाँडै एकता हुने दाबी गरेका छन् । मंगलबार एकता कार्यक्रममा बोल्दै उनले दुई–तीन दिनको मिति राखेर जुनसुकै समयमा पनि एकता हुनेसमेत बताए ।












प्रतिक्रिया