२२ कार्तिक २०८३, आइतबार

सुर्खेत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ३० वैशाख । कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १५ महिनामुनिका बालबालिकाले सबै खोप लगाइसकेकाले जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्दै कर्णाली सरकारका सामाजिक विकासमन्त्री दलबहादुर रावलले स्वास्थ्य क्षेत्रको विकासका निम्ति आफू अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । “राजनीतिक विकास सकियो, अब स्वास्थ्य क्षेत्रको विकास गर्न सहकार्यका साथ अघि बढ्छौँ”–उहाँले भन्नुभयो, “यसको लागि प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गर्नेछौँ ।”

बाल स्वास्थ्य महाशाखाका निर्देशक विकास लामिछानेले पूर्ण खोप घोषणापछि यसको दिगोपनाका लागि सबै मिलेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । जिल्ला खोप समन्वय समितिका सदस्यसचिव धिरजंग शाहले १५ महिनामुनिका बालबालिका ११ प्रकारका खोपबाट कोही पनि वञ्चित नरहेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताउनुभयो ।

विसं २०७० चैत २६ गते साविकको लेखगाउँ गाविसलाई पूर्ण खोप गाविस घोषणा गरी शुरुआत गरिएको उक्त अभियान २०७४ साल फागुन २६ मा छाप्रेमा आएर सम्पन्न भएको खोप प्रमुख जितलाल ढकालले जानकारी दिनुभयो । –रासस