तुलसीपुर, ३० बैशाख । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा वडा स्तरीय पुरुष फुटवल र दाङ जिल्ला स्तरीय महिला फुटवल प्रतियोगिता जेठ २५ गतेबाट हुने भएको छ । उपमहानगरपालिकामा बसेको बैठकले प्रतियोगिता सञ्चालनको निर्णय गरेको हो ।
उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले खेल र खेलाडीको प्रवर्द्धनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको मेयर कप प्रतियोगिताका संयोजक अमर नेपाली (माइकल)ले जानकारी दिए ।
प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका पुरुष खेलाडी र जिल्ला भरका महिला खेलाडीहरुले भाग लिन पाउने पनि संयोजक नेपालीले बताए । उनले प्रतियोगितामा भाग लिनका लागि वडाको सिफारिससँगै सम्बन्धित वडाको वासिन्दा भएको कागजात पेस गर्नुपर्ने प्रावधान रहेको जिल्ला फुटवल संघका अध्यक्ष सुशिल श्रेष्ठले जानकारी गराए ।
तुलसीपुरको अरनिको मैदानमा हुने खेलमा सहभागिताका लागि उपमहानगरपालिकाले आव्ह्वान समेत गरेको छ । प्रतियोगिता सञ्चालनका लागि बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड समेत गरेको छ । प्रतियोगितालाई भव्य तरिकाले सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत निर्माण गरिएको उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त विवश आचार्यले जानकारी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले खेल र खेलाडीको संरक्षण र प्रवर्द्धन गर्नका लागि मेयर कप सञ्चालन गर्दै आएको मेयर कप प्रतियोगिता आयोजक समितिका सदस्य दिपक कुमालले जानकारी दिए । कुमालका अनुसार यसै आर्थिक वर्षमा अन्य प्रतियोगिताहरु समेत उपमहानगरपालिकाले आयोजना गर्ने भएको छ ।















प्रतिक्रिया