४ कार्तिक २०८३, बुधबार

भैंसी ‘हिरा’ त्यो पनि सुन्दरी प्रतियोगीताको विजेता !

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । भैंसी, त्यो पनि सुन्दरी प्रतियोगिताको विजेता ! हो, यस्तै भएको छ सुनसरीको इटहरीमा ।

इटहरीकी कृषक मिठुमाया कार्की हर्षित मुद्रामा हातमा ११ हजार र ‘हीरा’को उपाधि लिँदै भन्दै थिइन्, ‘यसले दूध पनि धेरै दिन्छ, रोग पनि केही लागेको छैन ।’

मिठुमायाले माया गरेर पालेको भैंसी ‘हीरा’लाई सुन्दरी प्रतियोगितामा सहभागी गराएकी थिइन् । उनको गोठको भैंसीले उपाधि जित्नुभन्दा पनि भैंसी पालनका लागि सुविधा पाइन्छ कि भन्ने आशा मात्र थियो । उपाधि नै चुमेपछि उनी भैंसी पालनमा थप हौसिएकी छन् ।

उनी भन्छिन्, ‘उपाधि नै जित्छ भन्ने सोचेकी थिइनँ तर निःशुल्क बिमा र नगद हात लाग्यो ।’ बिमासहित अब उनको हीराले निःशुल्क उपचार पनि पाउनेछ ।

कृषकलाई प्रोत्साहन गर्न राष्ट्रिय भैंसी अनुसन्धान केन्द्रले यो प्रतियोगिता शनिबार इटहरीमा गरेको थियो । उपाधि जित्ने भैंसी कृषकलाई वातावरण तथा पर्यावरण संरक्षण केन्द्रले नगद दिएको थियो । प्रतियोगितामा कृषकहरूले ३८ वटा भैंसीको सहभागिता गराएका थिए ।

प्रतियोगितामा नरबहादुर कार्कीले पालन गरेको ‘चम्पा’ले दोस्रो उपाधिसहित ९ हजार तथा बेदनिधि दाहालको ‘काली’ले ५ हजार रूपैयाँसहित तेस्रो पुरस्कार पाए । किसान हरिप्रसाद नेपालको काली नाम गरेको भैंसीले चौथो भएर ३ हजार ५ सय रूपैयाँ तथा पाँचौं हुने किसान नारायणबहादुर बुढाथोकीको ‘काली’ले नै २ हजार ५ सय रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

उपाधि जित्ने सबै भैंसीलाई बिमाको सुविधा दिइएको छ । प्रतियोगितामा ल्याइएका भैंसीको स्वास्थ्य, सिङ, दूध दिने क्षमतालाई मूल्यांकनको प्रमुख आधार बनाइएको थियो । ‘किसानको प्रोत्साहनका लागि यस्तो कार्यक्रम पूर्वमा पहिलोपटक गरिएको हो । यस्तो प्रतियोगिताले किसानलाई पशुपालनमा प्रोत्साहन मिल्नेछ । राष्ट्रिय भैंसी अनुसन्धान केन्द्रका वैज्ञानिक पवनकुमार झाले भने, ‘यस्ता प्रतियोगिता निरन्तर गर्न आवश्यक देखिन्छ ।’

झासहित जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो, डा. विष्णुप्रसाद कुसवाह र प्राविधिक राजेश पौडेल निर्णायक टोलीमा थिए ।

‘प्रतियोगितामा ल्याइएका ३८ वटा भैंसी सबैको गुणस्तर राम्रो थियो, त्यसमा पनि केहीलाई छान्दा कृषकलाई भैंसी पालनमा उत्प्रेरणा बन्ने ठानेका छौं,’ डा. महतोले भने, ‘कृषि नै अबको बलियो आर्थिक आधार हो भन्ने सबैले बुझ्नु आवश्यक छ ।’ (राजधानी दैनिकबाट)