काठमाडौँ, १५ पुस । एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दोहोरी चलिरहँदा नेकपा एमालेका शीर्ष नेता माधवकुमार नेपाल भने प्रचण्डको गाडी चढेर नर्भिक अस्पताल पुगे ।
एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटन उनकै निवास लाजिम्पाट पुगेका नेपाल अस्वस्थ भएर भर्ना भएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेट्न प्रचण्डको गाडी चढेर अस्पताल पुगेका हुन् । भेटवार्तापछि प्रचण्ड र नेपाल दुबैले अध्यक्ष वैद्यलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
त्यसअघि प्रचण्ड निवासमा भएको भेटमा एमाले नेता नेपालले संविधान निर्माण प्रक्रियामा सहज वातावरण निर्माण आग्रह गर्न प्रचण्डलाई आग्रह गरेका थिए । दुई नेताबीच करिब डेढ घन्टा कुराकानी भएको थियो ।
नेता नेपालले संविधानका विवादित विषयमा सहमति हुन नसके संविधानमा फरक मत राखेर भएपनि अगाडि बढ्न आग्रह गरेको स्रोतले बतायो । जबाफमा प्रचण्डले भने सहमतिकै आधारमा संविधान जारी गर्नुपर्नेमा अडान राखेका थिए ।
प्रचण्डले एमाले अध्यक्ष ओलीका अभिव्यक्ति र अडानले सहमति विथोलिएको गुनासो समेत गरेका थिए ।
















प्रतिक्रिया