नयाँदिल्ली, ३० वैशाख । सन्दीप लामिछानेले आइपिएलमा ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर १ विकेट लिएका छन् ।
शनिबार राति दिल्लीको फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बैंलोरविरूद्ध बलिङ गरेका लामिछानेले सबैभन्दा कम इकोनोमी ओभर बलिङ गरेका हुन् ।
सन्दीपले पार्थिव पटेलको विकेट लिँदै ऐतिहासिक सफलता हात पारेका हुन् ।
दोस्रो ओभरको चौथो बलमा उनले पार्थिवलाई एलबिडब्लुको धरापमा पारे । यसअघि उनले विराट कोहलीलार्इ सुरूवाती दुर्इ बल गरेका थिए । पहिलो बल विराटले डट खेलेका थिए ।
दोस्रो बलमा विराटले एक रन लिए । तेस्रो बलमा पार्थिवले चौका प्रहार गरे भने चौथो बलमा सन्दीपले उनलार्इ एलबिडब्लु आउट गरे । पाँचौ र छैठौ बल लगातार डट फालेका थिए ।
नेपालबाट पहिलोपटक आइपीएल खेलिरहेका १८ वर्षे सन्दीपले यसअघि पहिलो ओभर बलिङमा ६ रन खर्चिएका थिए ।
पहिलो ४ बलमा २ रन मात्रै दिएका सन्दीपको पाँचौं बलमा बैग्लोरले बाइ मार्फत ४ रन बटुलेको थियो । छैठौं बल पनि सन्दीपले डट फालेका थिए ।
आफ्नो तेस्रो ओभरमा सन्दीपले ९ रन मात्रै खर्चिए । विराट कोहलीले उनको तेस्रो ओभरको पहिलो बलमा चौका प्रहार गरेका थिए ।
दोस्रो बलमा विराटले कुनै रन लिन सकेनन् भने तेस्रो बलमा एक रन लिँदै एबी डिभिलियर्सलार्इ स्ट्राइकमा ल्याए । चौथो बलमा डिभिलियर्स, पाँचौं बलमा कोहली र अन्तिम बलमा डिभिलियर्सले एक(एक रन मात्रै लिन सके ।
चौथो ओभरमा लामिछानेले एक छक्कासहित १० रन खर्चिए । पहिलो बलमा डिभिलियर्सले एक रन लिए भने दोस्रो बलमा कोहलीले पनि एक रन मात्र लिन सके ।
तेस्रो बलमा डिभिलियर्सले फेरि एक रन लिए भने चौथो बलमा पनि कोहलीले एक रन लिएर स्टाइक परिवर्तन गरे । पाँचौ बलमा पहिलो छक्का दिएका लामिछानेले छैठै बलमा डिभिलियर्सले कुनै रन लिन सकेनन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली डेयरडेभिल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलार्इ १ सय ८२ रनको लक्ष्य दिएको छ । दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन जोडेको हो ।
उसका ऋशब पन्तले ६१ रनको उत्कृष्ट इनिङ खेल्दै दिल्लीलार्इ मध्यम स्कोरमा पुर्याएका हुन् । – एजेन्सी















प्रतिक्रिया