
बनेपा, २९ वैशाख । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ ।
तरकारीको मुख्य क्षेत्र मानिने कुशादेवी र रयालेका डाँडाखोला, टापु, पाँचकन्या, रानीकोट, खानीडाँडा, छरुवा, फलामेलगायत ठाउँका किसानले लगाएको आलु, काँक्रो, फर्सी, चिचिण्डा, तीतेकरेला, भेडेखुर्सानी आदि तरकारीको बोट बिहीबार अपराह्न ठूलो मात्रामा परेको असिनापानीले नष्ट पारेपछि किसान चिन्तित बनेका छन् ।
टापुका किसान गोमा सापकोटाले बारीमा लगाइएको तरकारी असिनापानीले नष्ट गरेपछि आफ्नो वर्ष दिनको कमाइ खेर गएको बताइन् । ‘अर्काको बारीमा भाडा तिरेर लगाएको तरकारी खेती पनि सबै नष्ट पारिदियो, अब कसरी छोराछोरीको पढाइ खर्च र घर खर्च चलाउने हो ?’, दुखेसो पोख्दै सापकोटाले भनिन् ।
खेतीबाट नै जीवन धान्न सजिलो भएकाले सबैथोक त्यसैलाई नै ठानेर खेती कमाइबाट जीवन गुजार्दै आएकी उनलाई यस वर्ष अब कसरी परिवार धान्ने भन्ने चिन्ताले सताउन थालेको छ । उनले पाँच वर्ष अगाडिदेखि १० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गर्दै आइरहेकी छिन् ।
लगाइएको तरकारी बाली असिनापानीले नष्ट पारेपछि अब कसरी आम्दानीको विकल्प खोज्ने भन्ने चिन्तामा परेको स्थानीय बासिन्दा राजन सापकोटाले बताए । ‘हिजोसम्म पाखो भित्ता नै हरियाली देखिने गरी थाँक्राभरी फलेको काँक्रो र झिलिमिली फूल फूलेको खेती बेलुका नै सबै सखाप पारिदियो, अब के गर्ने गर्ने ?’ उनले भने, ‘अब मकै छर्न पनि ढिला भइसक्यो, अरु खेती गर्ने समय पनि बितिसकेकाले यहाँका आम किसान फतक्कै गलेका छन् ।’
‘सबै किसानका लागि स्थानीय सरकारले तरकारीको बीउ उपलब्ध गराइदिए ठूलो राहत हुने थियो’, सापकोटाले भने । उनले तरकारी खेतीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्दै आइरहेका थिए
किसानलाई पहिलाको अवस्थामा नै ल्याउन स्थानीय तहले सहयोग गर्नुपर्ने अर्का किसान वेदप्रसाद सापकोटाले बताए । ‘अब किसानले लगाएको बालीको बीमा गर्ने व्यवस्था हुनुप-यो’, उनले भने ।
वडा नं. १ का सचिव शम्भुप्रसाद अधिकारीले भएको क्षतिको विवरण संकलन गरेर नगरपालिकामा पेश गर्ने तयारी भएको बताए । ‘हामीसँग त वडामा बजेट पनि छैन, अब लगत संकलन गरी पठाउने हो, नगरपालिकाबाट के व्यवस्था गर्छ त्यहीँबाट थाहा हुन्छ’, अधिकारीले भने, ‘असिनापानीले करीब रु १० देखि १२ करोड बराबरको तरकारी बाली क्षति भएको अनुमान छ ।’
एक हजार १२७ घरधुरी रहेको सो क्षेत्रका करीब ९० प्रतिशत बासिन्दाको जीवन खेतीपातीबाटै गुजारा गर्दै हुँदै आएको छ । त्यहाँका किसानले फलाएको तरकारी कालीमाटीमा बिक्री हुँदै आएको छ । – रासस















प्रतिक्रिया