
काठमाडौँ, २७ बैशाख । साढे ३३ किलो सुन प्रकणरमा प्रहरी र गोरे भनिने चुडामणि उप्रेतीबीच भएको कुराकानीको भिडियो अदालतमा पेश गरिने भएको छ । अनुसन्धान समिति र प्रहरीले मुख्य अभियुक्त गोरेले शनमको हत्यासँगै विभिन्न व्यक्तिसँग इन्टरनेटको प्रयोग गरी गरेको कुराकानीको भिडियो तथा अडियो रेकर्ड अदालतमा पेश गर्न लागिएको हो ।
सनम शाक्यको हत्यापछि गोरेले प्रहरी अधिकारीसँग लाश कसरी लुकाउने भनेर छलफल गरेका थिए । प्रहरीले ती सबै रेकर्ड संकलन गरी अदालत पेश गर्ने भएको हो । पक्राउ परेका ३० जनाको बयान सकिएको छ । बुधबार बयान सकिएकोमा बिहीकार थुनछेक बहस शुरु भएको छ । सबै अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रहोवरमा हुनेछ । जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा न्यायाधीश शर्माले नै थुनछेक बहसको सुनुवाई गर्नेछन् ।
विमानस्थलका कर्मचारी राजन थापा, पुण्यप्रसाद तामाङ, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारू, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बीरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री र कपिलराज पुरी, सुन तस्करीका लगानीकर्ता राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङसहित राजेन्द्रकुमार शाक्य, चाचाजी भनिने महावीरप्रसाद गोल्यानसँग अदालतले बयान लिइसकेको छ ।
यसैगरी, पक्राउ परेकामध्ये प्रहरी अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी र प्रहरी हवल्दार अमरबहादुर थापा मगरलाई अनुसन्धान निम्ति प्रहरीले म्याद थप नगरिकन सिधै पक्राउ पुर्जी थमाएर अदालतमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले गत बुधबार अदालतमा अभियोग दायर गरेकै दिन लोहनी आएका हुन् । फरार प्रतिवादीको रूपमा नाम भएका अर्का प्रहरी हवल्दार आइतबार सिधै अदालत पुगेका हुन् ।
अदालतमा बयान दिएका प्रहरी अधिकारीले घटनामा आफूहरूको संलग्नता अस्वीकार गरेका छन् । एसपी लोहनी र डिएसपी केसीले असल काम गर्दा आफूहरू जबर्जस्त फस्नु परेको बयान दिएका छन् । अदालतले अभियुक्त टेकराज मल्ल ठकुरीको तीन दिन तथा प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सन्जेल र डिएसपी राउतको बयान लिन दुई दिन लगाएको थियो । मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की र राजन कुमारसँग पनि दुई–दुई दिन बयान लिइएको थियो ।
टेकराज शनमको शव राखिएको स्कोरपिओबाट विराटनगरमा पक्राउ परेका हुन् । उनी त्यही गाडीको चालक थिए । प्रहरी नायब उपरीक्षक केसी र सई सन्जेल त्यही घटनासँग जोडिएर अपराध अनुसन्धान महाशाखाबाट खटिएर आएको समूहका प्रहरी अधिकारी हुन् । विराटनगर–३ मा गत फागुन १९ गते शव बरामद गरेर मोरङ प्रहरीको जिम्मा लगाएपछि वारदातस्थल सिरहा रहेको सार्वजानिक अभिव्यक्ति दिएसँगै उनीहरू अपराधमा संलग्नको सम्पर्कमा रहेको खुलेको थियो । काफ्ले र कार्की पनि शनमकै शव बरामद भएको दिन विराटनगरबाटै पक्राउ परेका थिए ।
अदालतले पूर्व प्रहरी नायब महानिरीक्षक गोविन्द निरौला, निलम्बित प्रहरी नायब उपरीक्षक विकासराज खनाल, सई सन्जेल, हवल्दार अम्बरबहादुर थापामगर, जवान विष्णुबहादुर खड्कालाई सुन कारोबारमा मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेतीसँगको सम्पर्क र सहयोगी बनेको अभियोग लागेको छ ।
हराएको सुनको सुराक बुझ्नेक्रममा हत्या गरिएका शाक्यको शव फेला परेको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ, मे १ च ५३९५ नम्बरको टाटा गाडी, घटना अनुसन्धानक्रममा नियन्त्रणमा लिइएको बा ३९ प ९३० को स्कुटरलगायत स्कोरपिओभित्र बरामद भएका करेन्ट लगाउन प्रयोग गरिएको १२ भोल्टका दुईटा ब्याट्री, डिसी पावरलाई एसीमा परिवर्तन इन्भटर, करेन्ट लगाउन प्रयोग गरिने तार, रड, माछा मार्ने जाल, चामल र चिनीलगायत दैनिक उपभोग्य वस्तु प्रहरीले प्रमाणका रूपमा अदालतमा बुझाएको छ ।















प्रतिक्रिया