१ कार्तिक २०८३, आइतबार

चितवनमा सहकारी बैंकको शाखा स्थापना, पहिलो दिनमै ३२ करोड निक्षेप संकलन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ बैशाख । नेपालमा सहकारीको उद्गमस्थलका रुपमा रहेको चितवनमा सहकारीहरुको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा स्थापना भएपछि चितवनका सहकारीहरु उत्साहित भएका छन् ।

सहकारी संघ संस्थाहरुको प्रवर्द्धनका लागि स्थापित सहकारी बैंकको शाखा स्थापनाका लागि धेरै लामो समयदेखि प्रयत्न गरिरहेका चितवनका सहकारीकर्मीहरु सोमबार बैंकको शाखा स्थापनापछि हर्षित भएका हुन् । चितवनका करिव ७ सय वटा सहकारीले वार्षिक १५ अर्ब भन्दा बढीको कारोबार गर्छन् भने सहकारीहरुको बैंक नभएका कारण अहिलेसम्म सबै निजी बैंकमा कारोबार गर्दै आएको भन्दै सहकारीका अगुवाहरुले अब सहकारी बैंकमार्फत नै कारोबार गर्ने प्रतिवद्धता जनाएका छन ।

राष्ट्रिय सहकारी बैंकको भरतपुर शाखाको प्रदेश नं. ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सोमबार उद्घाटन गरेका हुन् । नारायणगढको सहिदचोकमा रहेको शाखा कार्यालय सञ्चालनको पहिलो दिनमै चितवन र नवलपुरको गैंडाकोटका सहकारीहरुले ३२ करोड भन्दा बढी निक्षेप जम्मा गरेका छन् । सहकारी संघ संस्थाका प्रतिनिधिहरुले नियमित कारोबारका साथै संस्थामा रहने तरलताको रकम सहकारी बैंकमा जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहकारी बैंकको शाखा स्थापनापछि सहकारी संघ संस्थाहरुलाई कारोबार गर्न सहज हुने, कर्जा लिएर व्यवसाय सञ्चालन गर्न, वित्तीय लगायत क्षमता अभिवृद्धिका काममा समेत सहज हुने जिल्ला वचत तथा ऋण सहकारी संघ चितवनका अध्यक्ष तेजेन्द्र खड्काले बताए । उनले जिल्लामा करिब ७ सय सहकारी संघ संस्था रहेका र ति सबैलाई सो बैंकमा कारोबार गर्न आग्रह गरे ।

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक शान्ति अधिकारी र भरत दवाडी, जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराई, जिल्ला सहकारी संघका सञ्चालक भगवती पौडेल लगायतले चितवनका सहकारीहरुलाई थप प्रभावकारी र व्यवस्थित गराउनका लागि सहकारी बैंकको शाखाले सहजता प्रदान गर्ने बताउनु भएको छ ।